प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

प्रहरीको निगरानीमा आयोजक

प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

काठमाडौं : सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘प्राइभेट भिल्ला पार्टी’ नाम दिइएको एउटा विज्ञापन तीव्र रूपमा फैलिएको छ। फेसबुक रिल्स, टिकटक र विभिन्न फेसबुक पेजमार्फत प्रचार गरिएका सामग्रीमा निश्चित रकम तिरेपछि युवती उपलब्ध गराइने दाबी गरिएको छ। यस्तो प्रचारले मानव बेचबिखन, ठगी र गैरकानुनी गतिविधिको आशंका बढाएपछि नेपाल प्रहरीले समेत निगरानी थालेको जनाएको छ।

 ‘पार्टी इन्टरटेनमेन्ट सर्भिस नेपाल सर्भिस’ नामक फेसबुक पेजबाट सार्वजनिक गरिएको एआई निर्मित भिडियोमा काठमाडौंमा ‘एक्सक्लुसिभ प्राइभेट भिल्ला पार्टी’ आयोजना हुने दाबी गरिएको छ।

भिडियोमा सीमित पाहुना, भीडभाडरहित वातावरण, लाइभ डीजे, सांगीतिक प्रस्तुति र लक्जरी सेटअपसहितको कार्यक्रमको प्रचार गरिएको छ। पार्टीमा सहभागी हुन न्यूनतम १० हजार रुपैयाँको प्याकेज रहेको उल्लेख छ।

 प्रचार सामग्री यतिमै सीमित छैन। उक्त पेजमा १८ वर्षभन्दा माथिका व्यक्तिले मात्रै सहभागी हुन पाउने, टिकट पुष्टि भएपछि मात्रै कार्यक्रमको स्थान जानकारी गराइने उल्लेख गरिएको छ।

विज्ञापनमा १५ हजार रुपैयाँको टिकट काट्नेले एक युवती, तीन बोतल बियर, फेस मास्क तथा मोबाइल फोन राख्न ‘जिप लक’ ब्याग पाउने दाबी गरिएको छ। 

त्यस्तै, २५ हजार रुपैयाँ तिर्नेले दुई युवतीसहित थप सुविधा पाउने र ३० हजार रुपैयाँको प्याकेजमा आफूले रोजेको युवती उपलब्ध हुने उल्लेख गरिएको छ।

‘नेपाल पनि यति एड्भान्स भइसक्यो ?’
मंगलबार बिहान एक सरकारी कर्मचारीले यही विज्ञापनको लिंक म्यासेन्जरमार्फत पठाउँदै जिज्ञासा राखे, ‘के हो यो ? नेपाल पनि यति एड्भान्स भइसक्यो ?’

उनका अनुसार फेसबुकको ‘फर यु’ पेजमा बारम्बार विज्ञापन देखिएपछि उनले पेज खोलेर हेरेका थिए। ‘एक रातका लागि १० हजारदेखि ३० हजार रुपैयाँसम्मका प्याकेज बनाएर युवती नै उपलब्ध गराइने जस्तो प्रचार गरिएको रहेछ,’ उनले भने, ‘सामाजिक सञ्जालमै खुलेआम यस्तो प्रचार गर्न पाइन्छ ? प्रहरीले के गरिरहेको छ ?’

ठमेलका एक पर्यटन व्यवसायीले पनि उक्त विज्ञापनको स्क्रिनसट पठाउँदै ‘प्राइभेट भिल्ला पार्टी’ को नाममा सर्वसाधारणलाई ठगी गर्ने प्रयास भइरहेको दाबी गरे। ‘कसले आयोजना गर्ने, कहाँ हुने, केही स्पष्ट छैन,’ उनले भने, ‘पार्टीमा रुचि राख्नेहरूको व्यक्तिगत विवरण संकलन गरेर ठगी गर्ने सम्भावना देखिन्छ। टिकट नतिरी वेबसाइटभित्र समेत प्रवेश गर्न नसकिने गरी व्यवस्था गरिएको छ।’

प्रहरी भन्छ : ‘गैरकानुनी गतिविधि हुन दिँदैनौं’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले ‘प्राइभेट भिल्ला पार्टी’सम्बन्धी प्रचारबारे आफूहरू जानकार रहेको र निगरानी गरिरहेको बताए। ‘हामीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेका छौं। केही सुराकसमेत फेला परेका छन्,’ उनले भने, ‘पैसाको दरअनुसार युवती उपलब्ध गराइन्छ भन्ने प्रचार आफैंमा गम्भीर र गैरकानुनी विषय हो। यस्तो गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्।’ 

उनका अनुसार उमेर पुगेका व्यक्तिहरूले पार्टीमा सहभागी हुनु वा मनोरञ्जन लिनु कानुनविपरीत होइन। तर पार्टीलाई गैरकानुनी कमाइ वा अन्य अवैध गतिविधिको माध्यम बनाउन भने पाइँदैन। ‘विभिन्न नाममा यस्ता जमघट हुने गरेका छन्,’ उनले भने, ‘कहिले ‘एडल्ट पार्टी’, कहिले ‘किटी पार्टी’ को नाममा रकमको बार्गेनिङ हुने गरेका घटना देखिएका छन्। 

गैरकानुनी गतिविधि कसैले पनि गर्न पाउँदैन।’ मानसिक स्वास्थ्य अभियन्ता तथा चिकित्सक रविन बस्नेतले यस्ता विज्ञापनले विशेषगरी युवाहरूलाई गलत सन्देश दिने बताए। ‘युवतीलाई बजारमा बेचिने वस्तुजस्तो गरी मूल्य तोक्नु आफैंमा गलत र अमानवीय कार्य हो,’ उनले भने, ‘जोखिममा रहेका किशोरकिशोरी र युवाहरू पैसाको लोभमा यस्ता गतिविधिमा फस्न सक्छन्। 

यौन तथा मानसिक स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नभएका युवाहरू सामाजिक सञ्जालमा फैलाइने यस्ता प्रचारका सिकार बन्ने जोखिम हुन्छ।’ उनले यस्ता सामग्रीमाथि सरकारी निकायले कडा निगरानी र कारबाही गर्नुपर्ने बताए। 

नेपाल प्रहरीको साइबर ब्युरोले भने यस्ता कार्यक्रमको नाममा ठगीमा परेका व्यक्तिलाई उजुरी दिन आग्रह गरेको छ। साइबर ब्युरोका मुद्दा शाखाका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार हालसम्म ‘प्राइभेट भिल्ला पार्टी’ सम्बन्धी औपचारिक उजुरी प्राप्त भएको छैन। 

‘सामाजिक सञ्जालमा फैलिएका सामग्रीबारे निगरानी गरिरहेका छौँ,’ उनले भने, ‘यदि कसैलाई आर्थिक वा अन्य प्रकारको ठगी भएको छ भने प्रमाणसहित उजुरी दिन अनुरोध गर्छौं।’ सामाजिक सञ्जालमा आकर्षक प्याकेज र गोप्य स्थानको लोभ देखाएर प्रचार गरिएका यस्ता कार्यक्रम वास्तवमै मनोरञ्जनका लागि हुन् वा ठगी तथा अन्य गैरकानुनी गतिविधिका माध्यम, त्यसबारे प्रहरी अनुसन्धान जारी रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.