लामिछाने हाइप्रोफाइल भेटघाटमा व्यस्त, आज मोदीसँग भेटवार्ता हुने
काठमाडौं : पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेको भारतमा भव्य स्वागत गरिएको छ। भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा लामिछानेको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ।
लामिछाने भारतीय मन्त्री एवं सत्तारूढ दलका शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त छन्। लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस. जयशंकर र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका छन्।
जयशंकरसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिस्री पनि सहभागी थिए। भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मा खुसी व्यक्त गरेका छन्। ‘आज दिल्लीमा रास्वपा सभापति रवि लामिछाने र प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुसी लाग्यो,’ जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो छलफल विकास साझेदारी र जनता–जनताबीचको परस्पर सम्बन्धमा केन्द्रित रह्यो। विकास र समृद्धिलाई बढावा दिन यसको महत्वपूर्ण भूमिका छ।’
त्यस्तै, सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनबीच नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भेटवार्ता भएको हो। अध्यक्ष नवीनले सामाजिक सञ्जाल एक्समार्फत खुसी व्यक्त गरेका छन्।
‘भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका सभापति रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘भाजपा र रास्वपाबीच पार्टी–टु–पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो। उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो। साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा भुइँसतहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो। सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा विकास र जनसेवा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल भयो।’
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम, राजनीतिक सहकार्यलगायतका विषयमा छलफल भएको थियो।
लामिछानेका साथ नेपाली प्रतिनिधिमण्डलमा पार्टी सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, पार्टी सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपकराज बोहरा, लामिछानेकी पत्नी नीतिका पौडेल र स्वकीय सचिव प्रदीप आचार्य छन्। भेटवार्ताका क्रममा दुवै पक्षबीच राजनीतिमा ‘जेन–जी’ को बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणका सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ। भेटवार्तामा भाजपाका महासचिव अरुण सिंह, वरिष्ठ नेता सञ्जय जैसवाल, विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी थिए। रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको पनि अवलोकन गरेको थियो।
आज मोदीसँग भेटवार्ता हुने
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार भेटवार्ता हुने भएको छ। त्यस्तै, भारतस्थित प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। लामिछानेको अयोध्या भ्रमण गर्ने कार्यतालिकासमेत रहेको छ। उनी भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्कने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !