ट्रम्पको नयाँ रणनीति : भारतसहित ६० देशमाथि नयाँ कर, तनाब बढ्न सक्ने चिन्ता

ट्रम्पको नयाँ रणनीति : भारतसहित ६० देशमाथि नयाँ कर, तनाब बढ्न सक्ने चिन्ता
सुन्नुहोस्

अमेरिका : अमेरिकी अदालतबाट कर (ट्यारिफ) सम्बन्धी मुद्दामा झट्का बेहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ रणनीति अघि सारेको छ । यस पटक बहाना ‘जबरजस्ती श्रम’ लाई बनाइएको छ ।

अमेरिकाले भारतसहित आफ्ना प्रमुख व्यापारिक साझेदार देशहरूबाट आयात हुने वस्तुहरूमा नयाँ कर लगाउने प्रस्ताव अघि बढाएको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार भारतबाट अमेरिका आउने सामानमा थप १२.५ प्रतिशतसम्म कर लगाउन सकिने प्रस्ताव गरिएको छ ।

कुन–कुन देशमा कति कर ?

मिडिया रिपोर्टहरूका अनुसार क्यानडा, मेक्सिको, युरोपेली संघ, बेलायत र ताइवानबाट आउने वस्तुमा न्यूनतम १० प्रतिशत कर प्रस्ताव गरिएको छ । भारत, चीन, जापान, दक्षिण कोरिया, ब्राजिल र स्विट्जरल्यान्डका उत्पादनमा १२.५ प्रतिशत शुल्क लगाउने प्रस्ताव छ ।

के छ अमेरिकाको तर्क ?
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले धेरै व्यापारिक साझेदार देशहरूले जबरजस्ती श्रमबाट बनेका उत्पादनहरूको आयात रोक्न पर्याप्त प्रयास नगरेको आरोप लगाएका छन् । उनका अनुसार यस्तो अवस्थाले अमेरिकी कामदारहरूका लागि असमान प्रतिस्पर्धा सिर्जना गरेको छ र अब अमेरिका यसलाई थप सहन तयार छैन ।

भारतमा कस्तो असर पर्न सक्छ ?
यदि यो प्रस्ताव लागू भयो भने भारतीय निर्यातकर्ताहरूका लागि अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न महँगो हुन सक्छ । विशेष गरी इन्जिनियरिङ सामग्री, कपडा (टेक्सटाइल), रसायन उद्योग, औषधि (फार्मास्युटिकल) र अन्य निर्यातमुखी क्षेत्र प्रभावित हुन सक्ने छन् । यद्यपि हाल यो केवल प्रस्तावको चरणमा रहेको  छ। अन्तिम निर्णय सार्वजनिक सुझाव र सुनुवाइपछि हुनेछ ।

जुलाईमा सार्वजनिक सुनुवाइ
अमेरिकी प्रशासनले यस प्रस्तावबारे ६ जुलाईसम्म लिखित सुझाव मागेको छ । त्यसपछि ७ जुलाईदेखि सेक्शन ३०१ प्यानल अन्तर्गत सार्वजनिक सुनुवाइ सुरु हुनेछ । त्यसका आधारमा आगामी कदम तय गरिनेछ ।

अदालतको निर्णयपछि नयाँ बाटो
ट्रम्प प्रशासनले यसअघि पनि व्यापक कर लगाउने प्रयास गरेको थियो । तर अमेरिकी सर्वोच्च अदालतले आपतकालीन अधिकार प्रयोग गरेर लगाइएका केही शुल्कहरू रद्द गरिदिएको थियो । त्यसपछि प्रशासनले कानुनी रूपमा बलियो मानिने सेक्शन ३०१ अनुसन्धान प्रक्रिया प्रयोग गर्न थालेको छ । हाल अमेरिकाले सेक्शन १२२ अन्तर्गत १० प्रतिशतको अस्थायी विश्वव्यापी शुल्क पनि लागू गरिरहेको छ, जसको अवधि जुलाईमा सकिँदैछ ।

व्यापारिक तनाव बढ्न सक्ने चिन्ता
विशेषज्ञहरूका अनुसार नयाँ कर लागू भएमा अमेरिका र उसका प्रमुख व्यापारिक साझेदारहरूबीच व्यापारिक तनाव बढ्न सक्छ । यद्यपि अधिकांश देशहरूले हालसम्म प्रतिशोधात्मक कदमभन्दा पनि वार्ता र व्यापार सम्झौतामार्फत समाधान खोज्ने रणनीति अपनाइरहेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.