सोल्टी होटल्स एण्ड रिसोट्र्सले शिवपुरीमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने
काठमाडौं : सोल्टी होटल्स एण्ड रिसोट्र्सले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्दै काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रस्थित पाँचतारे लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ ।
कम्पनीले क्लासिक भ्यू रिसोर्ट लिमिटेडसँग व्यवस्थापन सम्झौता गर्दै उक्त रिसोर्टलाई ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने घोषणा गरेको हो । शिवपुरी राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित रिसोर्टले अतिथिहरूलाई काठमाडौं उपत्यकाको आकर्षक दृश्यावलोकनसँगै वन्यजन्तु, चराचुरुङ्गी तथा हरियाली वातावरणको अनुभव प्रदान गर्ने जनाएको छ ।
हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला सञ्चालनमा रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति तथा पहिचान झल्किने डिजाइन समावेश गरिएको कम्पनीले जानकारी गराएको छ । रिसोर्टमा ‘गुराँस अल डे डाइनिङ’ रेस्टुरेन्ट, ‘ऐराक बार’ तथा ‘जङ्गल फायर बीबीक्यू टेरेस’ सञ्चालनमा रहने छन् । जहाँ अतिथिहरूले विविध परिकार, बोनफायर र वन क्षेत्रको मनमोहक दृश्यको आनन्द लिन सक्ने जनाइएको छ ।
स्वास्थ्य र तन्दुरुस्तीलाई प्राथमिकता दिँदै रिसोर्टमा स्वीमिङ पुल, स्पा, स्टिम, साउना, फिटनेस सेन्टर, हाइकिङ तथा वन्यजन्तु अवलोकनका सुविधा उपलब्ध गराइने बताइएको छ । साथै विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा रिट्रिटका लागि आधुनिक बैंक्वेट हल, दुई खुला लन र एम्फिथिएटरको व्यवस्था गरिएको छ ।
यससम्बन्धी होटल व्यवस्थापन सम्झौतामा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र क्लासिक भ्यू रिसोर्ट लिमिटेडका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका छन् । सोल्टी होटल्स एण्ड रिसोट्र्सले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो ब्रान्ड विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ । शिवपुरीस्थित नयाँ रिसोर्ट सञ्चालनसँगै काठमाडौं उपत्यकामा सोल्टी समूहको यो तेस्रो सम्पत्ति बनेको छ ।
प्रतिक्रिया दिनुहोस !