उपत्यकामा बढ्दो आत्मदाहका घटना

विज्ञ भन्छन्:– ‘लामो समयदेखिको निराशा र मानसिक तनाव कारक’

उपत्यकामा बढ्दो आत्मदाहका घटना

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा आफैंमाथि आगो लगाएर ज्यान फाल्ने तथा आत्मदाहको प्रयास गर्ने घटनाहरू डरलाग्दो रूपमा दोहोरिन थालेका छन्। आर्थिक विपन्नता, सामाजिक तनाव, कानुनी झन्झट र घरायसी वा व्यक्तिगत समस्यासँग जुध्न नसक्दा सर्वसाधारणले चरम र आत्मघाती बाटो रोज्ने प्रवृत्ति बढेको छ।

मंगलबार बिहान कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित निजी जग्गामा पार्किङ गरी राखिएको कारभित्र जलिरहेको अवस्थामा काठमाडौं नरदेवी घर भएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ मृत भेटिए।यसअघि गत असार २६ गते मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। 

त्यस्तै, असार २७ गते बुद्धनगरका ४५ वर्षीय व्यापारी आश्विन राउतले आफ्नै घरको भान्साकोठामा आगो लगाएर आत्मदाहको प्रयास गरे। उनको पनि वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भयो। साउन ४ गते दिउँसो साढे २ बजे माकलबारी क्षेत्रमा खाजा घर चलाउने २७ वर्षीया सालु गुरुङले    श्रीमान्सँगको विवाद र घरायसी तनावपछि आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरिन्। प्रहरीका अनुसार शरीरको ५० प्रतिशत भाग जलेको गम्भीर घाइते अवस्थामा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

कारभित्र जलिरहेका थिए सुरेशचन्द्र 

ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको कारभित्र श्रेष्ठ जलिरहेको अवस्थामा फेला परेका हुन्। रोकिराखेको कारभित्र एक्कासि केही पड्किएको आवाजसँगै आगोको मुस्लो देखिएपछि स्थानीयहरू पानी हाल्न दौडिएका थिए।चालक बस्ने सिटमा सिटबेल्ट लगाएर ढोका लक गरी जल्दै गरेको अवस्थामा देखेपछि स्थानीयले ढोका खोलेर निकाल्ने प्रयास गरेका थिए। तर, आगोको मुस्लो ठूलो भएकाले उनलाई बचाउन सकिएन। उद्धारका लागि पुगेको प्रहरी र स्थानीयवासीले केही बेरमा आगो निभाउँदा कारधनी श्रेष्ठको मृत्यु भइसकेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बिहान ११ बजेतिर कारमा आगो लागेको थियो। प्रहरी घटनास्थल पुग्दा कारभित्र मान्छे जलिसकेको अवस्थामा भेटिएको थियो। 

श्रेष्ठ कारमा आगो लाग्दासमेत बाहिर ननिस्की भित्रै रहनुले कुनै भवितव्य नभई आफैं सिर्जित घटना हुन सक्ने प्रारम्भिक विश्लेषण प्रहरीले गरेको छ। श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उक्त कार नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको भेटिएको छ।सम्पन्न परिवारका    श्रेष्ठको पुरानो घर नरदेवी भए पनि केही समयअघि    श्रेष्ठ दम्पती ट्याङ्लाफाँटमा नयाँ भिल्ला किनेर बसाइँ सरेका थिए। उनका छोराछोरी अर्कै घरमा बस्छन्।    श्रेष्ठ मंगलबार बिहान खाना खाएर आफैँ गाडी चलाएर घरबाट निस्किएका थिए।

कारण– निराशा र मानसिक तनाव

समाजशास्त्री र मनोचिकित्सकहरूका अनुसार यस्ता घटनाहरू अकस्मात् हुने जस्तो देखिए पनि यसका पछाडि लामो समयदेखिको निराशा र मानसिक तनाव कारक हुने गर्छ।

नेपाल मेडिकल काउन्सिलका सदस्य तथा मानसिक अस्पताल पाटनका डाक्टर रविन बस्नेतका अनुसार व्यक्तिको मानसिक स्वास्थ्य अत्यन्तै महत्वपूर्ण हुन्छ। ‘विभिन्न समस्याका कारण व्यक्तिमा देखिने उदासीनता, कडा खालको चिन्ता, एन्जाइटी, ऋण, सामाजिक दबाब, पारिवारिक विचलन, सम्बन्धमा समस्या, बेरोजगारी जस्ता कारणहरूले व्यक्तिको मानसिक स्वास्थ्यमा समस्या देखिन्छ,’ डा. बस्नेत भन्छन्, ‘यसका लागि परिवार र साथीसर्कलको साथ नै सबैभन्दा ठूलो औषधि हो।’

डा. बस्नेतका अनुसार परिवारका कुनै पनि सदस्यले ‘बाँचेर के काम ?’ ‘म एकदमै निराश छु’, ‘खुसी नै हुन्नँ’, ‘परिवार र समाजको बोझ भएको छु’ जस्ता कुरा गर्छन् भने विशेष ख्याल गर्न आवश्यक हुन्छ। त्यसैगरी कोही व्यक्ति एक्लै बस्न खोज्ने, खतराजन्य गतिविधि देखाउने, अचानक धेरै रिसाउने वा शान्त हुने, निदाउन नसक्नु, चुलबुलिनु÷चिटचिटाउनु, दुव्र्यसन वा कुलतमा फस्नु, गरिरहेको काम गर्न नसक्नु, व्यापार डुबाउनु, अत्यधिक मदिरा तथा चुरोट सेवन गर्नु जस्ता संकेत देखाएमा मानसिक समस्या भएको हुन सक्छ।

‘यस्ता संकेत देखाउने व्यक्तिको समयमै पहिचान गर्न सकियो भने बचाउन सकिन्छ र सम्भावित हानिनोक्सानी कम गर्न सकिन्छ। उनीहरूलाई तुरुन्तै अस्पताल वा मनोचिकित्सककहाँ लगेर उपचार सुरु गरिहाल्नुपर्छ,’ डा. बस्नेत थप्छन्। मानसिक रूपमा विचलन भएका व्यक्तिलाई जोगाउन पारिवारिक छलफल, सामाजिक रूपमा मानसिक स्वास्थ्य चेतना अभिवृद्धि, आपत्कालीन रोकथाम केन्द्र र सहायता बढाउने तथा सञ्चारमाध्यमबाट सचेतना फैलाउनुपर्ने उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.