देशभर विरोध चर्किएपछि जेलेन्स्कीले हटाए प्रधानसेनापति !
कीभ :देशव्यापी रूपमा सुरु भएको विरोध प्रदर्शन र राजनीतिक दबाबकाबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदबाट बर्खास्त गरेका छन्। युक्रेनका लोकप्रिय पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाइएलगत्तै देशभरी विरोध प्रदर्शन सुरु भएको थियो। पूर्व रक्षामन्त्री फेडोरोभ र निवर्तमान सेनाध्यक्ष सिरस्कीबीच आन्तरिक विवाद रहेको खबरहरू बाहिर आएका थिए ।
३५ वर्षीय फेडोरोभले रक्षा मन्त्रालयमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै भ्रष्टाचारविरुद्ध अभियान चलाएर व्यापक प्रशंसा कमाएका थिए। अर्कोतर्फ, ६० वर्षीय सिरस्कीलाई भने पुराना 'सोभियतकालीन' कमाण्डरका रूपमा हेरिने गरिएको थियो, जसले सेनामा द्रुत र आधुनिक सुधार गर्न हिचकिचाएको आरोप लाग्दै आएको थियो।
सिरस्कीको स्थानमा ४३ वर्षीय युद्ध-अनुभवी मेजर जनरल मिखाइलो ड्रापाटीलाई नयाँ प्रधानसेनापति नियुक्त गरिएको छ। ड्रापाटी सन् २०१४ देखि नै युद्धमैदानमा चर्चित र सैन्य वृत्तमा लोकप्रिय मानिन्छन्। नयाँ जिम्मेवारी पाएपछि ड्रापाटीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'म पूर्ण ध्यान, जिम्मेवारी र देशको रक्षा गरिरहेका योद्धाहरूप्रति सम्मानका साथ काम गर्नेछु।।' उनले युक्रेनी सेनालाई बलियो बनाउन सिरस्कीले गरेको योगदानप्रति धन्यवाद पनि व्यक्त गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले सन् २०२२ मा रुसी आक्रमणका क्रममा राजधानी कीभको सफल रक्षा गरेको भन्दै निवर्तमान सेनाध्यक्ष सिरस्कीप्रति आभार व्यक्त गरेका छन्। साथै, जेलेन्स्कीले पूर्व रक्षामन्त्री फेडोरोभलाई सरकारमा अर्को सम्मानजनक पदको प्रस्ताव गरिएको बताएका छन्, तर फेडोरोभले उक्त प्रस्ताव स्वीकार गरे वा नगरेको अझै स्पष्ट भइसकेको छैन।
यसैबीच, पूर्व रक्षामन्त्री फेडोरोभले नयाँ सेनाध्यक्ष ड्रापाटीलाई बधाई दिँदै यस नियुक्तिलाई 'स्वतन्त्रता र न्यायका लागि लडिरहेका मानिसहरूका लागि नयाँ आशा' को रूपमा टिप्पणी गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले कार्यवाहक रक्षामन्त्री येभहेनी ख्मारा र नयाँ सेनाध्यक्ष ड्रापाटीलाई सैन्य कोर प्रणालीको सुधार तथा हतियार र ड्रोन आपूर्तिजस्ता मुख्य विषय समेटेर नयाँ रक्षा रणनीति तयार पार्न निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !