अभिजीतको घोषणा : अब मार्च गर्दैनौं, नत्र फेरि युवामाथि प्रहरीले कुटपिट गर्नेछ
भारत : ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले आफ्नो संगठनले अब फेरि संसद मार्च नगर्ने बताएका छन् । पुनः मार्च गरेमा प्रहरीले फेरि युवामाथि कुटपिट गर्न सक्ने डर रहेको उनको भनाइ छ । दिल्लीमा सोमबार भएको संसद मार्चका क्रममा दिल्ली प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै दीपकेले प्रदर्शनकारी विद्यार्थीमाथि कुटपिट गरिएको दाबी गरे । उनले भीड नियन्त्रणका नाममा प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग गरेको बताएका छन् ।
उनले भने, ‘हिजो हामीले देख्यौं कि दिल्ली प्रहरीले कति क्रूरतापूर्वक बालबालिकालाई कुट्यो । १२ वर्षीया बालिकाको समेत टाउको फुटाइयो र यस्तो गर्ने पुरुष प्रहरी अधिकारी थिए ।’ सोमबारको संसद मार्चमा भएको झडपमा करिब ६०–७० जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । यता आन्दोलनकारीको ढुंगामुढाबाट १०० भन्दा बढी प्रहरी पनि घाइते भएको जनाइएको छ ।
‘प्रहरीको पोसाकमा गुण्डा थिए’
प्रहरीको कारबाहीमाथि प्रश्न
दीपकेले भीड नियन्त्रणका लागि लाठीचार्ज गर्नुको सट्टा वाटर क्यानन प्रयोग गर्न सकिने बताएका छन् । उनले भने, ‘यदि मार्च रोक्न चाहन्थे भने वाटर क्यानन प्रयोग गर्न सक्थे । आखिर उनीहरू १७–१८ वर्षका विद्यार्थी नै थिए । हामी एक महिनादेखि शान्तिपूर्ण रूपमा बसेका थियौं । कुनै समस्या भएको थिएन । हिजो पहिले प्रहरीले नै आक्रमण गर्यो । लाठीचार्जपछि भागदौड मच्चियो ।’
‘ढुंगाले भरिएका ट्रक कहाँबाट आए ?’
दीपकेले विरोधस्थल नजिक ढुंगा कसरी पुगे भन्ने विषयमा पनि प्रश्न उठाएका छन् । उनले यो घटना योजनाबद्ध हुन सक्ने आशंका समेत गरेका छन् । उनले भने, ‘हिजो ढुंगाले भरिएका ट्रक कहाँबाट आए ? यहाँ प्रहरीले चरा समेत उड्न नदिने सुरक्षा व्यवस्था गरेको थियो । हाम्रा प्रत्येक सदस्यको खानतलासी भइरहेको थियो, झोला र खल्ती जाँच भइरहेको थियो । मानिसहरूलाई भित्र पस्न समेत दिइएको थिएन । यस्तो अवस्थामा जन्तर–मन्तर नजिक ढुंगाले भरिएका ट्रक कसरी आए ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस !