बीपी कोइरालाको ४४ औँ स्मृति दिवस आज
काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालको पहिलो आम निर्वाचनपछि देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।
प्रधानमन्त्री कार्यकालमा भूमिसुधार र आर्थिक विकासका नीति अघि सारेका उनलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी बन्दी बनाएका थिए। लामो जेल जीवन र निर्वासनपछि २०३३ सालमा उनले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलापको नीति’ नेपाली राजनीतिमा ऐतिहासिक मानिन्छ।
राजनीतिक जीवनका साथै नेपाली साहित्यमा पनि उनको योगदान महत्त्वपूर्ण छ। उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू नेपाली साहित्यका कालजयी कृति मानिन्छन्। वि.सं १९७१ भदौ २४ गते जन्मिएका बीपीकाे घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते निधन भएको थियो।
उनै बीपीको स्मृति दिवसमा नेपाली कांग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस !