महिला खेलाडीले अनिवार्य लिंग परीक्षण गर्नुपर्ने
एजेन्सी /लन्डन : डब्लूटीए टुर टेनिस प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीले अनिवार्य रूपमा एक पटक लिंग परीक्षण गर्नुपर्ने भएको छ। विमेन्स टेनिस एसोसिएसन (डब्लूटीए) ले डब्लूटीए टुर प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रूपमा ‘जेनेटिक सेक्स टेस्ट’ गर्नुपर्ने नियम लागु गरेको हो।
डब्लूटीएले महिला खेलाडीका लागि लागु गरेको नयाँ नियममा यो व्यवस्था गरिएको हो। जस अनुसार सेक्स डिटरमाइनिङ रिजन वाई (एसआरवाई) जिनको परीक्षणका लागि गालाको भित्रि भागको स्वाब, रगत वा ¥याल दिनुपर्ने भएको हो। यो जिन वाई क्रोमोजोमको हिस्सा रहेको र त्यसले पुरुषको जस्तै शारीरिक लक्षण विकसित गर्ने गर्दछ। त्यसैले यो परीक्षणमा ‘नेगेटिभ’ नतिजा आउने महिला खेलाडीले मात्रै खेल्न पाउने छन्। अर्थात वाई क्रोमोजोम नभएका महिला खेलाडीले मात्रै डब्लूटीएका प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।
जिन परीक्षणमा ‘पोजेटिभ’ नतिजा आउने खेलाडीको भने अरु पनि मेडिकल परीक्षण गरिने छ। यो परीक्षण हरेक खेलाडीको करियरमा एक पटक मात्र गरिने र उनीहरूलाई सम्झौता गरेर मात्रै खेल्न दिने नीति अवलम्बन गरिएको छ। जो खेलाडीले परीक्षण गर्न इन्कार गर्छन्, उनीहरूलाई डब्लुटीएका प्रतियोगितामा खेल्न नदिनुका साथै अनुशासनको पनि कारबाही हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !