इरानविरुद्ध अमेरिकाको नयाँ हवाई आक्रमण, सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी
अमेरिका : अमेरिकी सेनाले इरानमाथि फेरि हवाई आक्रमण गरेको छ । अमेरिकी सैन्य कमाण्ड (सेन्टकम) का अनुसार इरानको हर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजहरूलाई आक्रमण गर्ने क्षमता कमजोर बनाउन यो नयाँ कारबाही गरिएको हो ।
लगातार १०औं रात गरिएको यस आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने चेतावनी दिएका थिए। यसको प्रत्युत्तरमा इरानले हर्मुज जलडमरूमध्यमा रहेका दुई तेल ट्यांकरमा आक्रमण गरेको र बहराइन, कुवेत तथा जोर्डनमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई पनि निशाना बनाएको इरानी सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ ।
इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिकाविरुद्ध अहिले ‘पूर्णस्तरको युद्ध’ भइरहेको बताएका छन् । ट्रम्पले भने अघिल्लो रातको अमेरिकी आक्रमणमा इरानलाई ‘धेरै ठूलो क्षति’ पुर्याइएको र यो हालै मारिएका तीन अमेरिकी सैनिकको सम्मानमा गरिएको बताएका थिए । तीमध्ये दुई सैनिक जोर्डनमा र एक सैनिक इराकमा मारिएका थिए ।
सेन्टकमका अनुसार पछिल्लो आक्रमणमा इरानका सैन्य कमाण्ड केन्द्र, समुद्री सैन्य क्षमता, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल र हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरिएको थियो । इरानको उत्तरपश्चिमी तब्रिज शहर नजिक विस्फोट भएको खबर आएको छ, जहाँ एक जनाको मृत्यु भएको र धेरै घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । साथै बन्दर महशहर, बन्दर इमाम खोमेनी, चाबहार र कोनाराक बन्दरगाह क्षेत्रमा पनि विस्फोट भएको बताइएको छ । यद्यपि सेन्टकमले हर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजहरूको आवतजावत भने जारी रहेको जनाएको छ ।
उता इरानले आफ्नो सेनाले जलडमरूमध्यको ‘असुरक्षित दक्षिणी मार्ग’ हुँदै गइरहेका दुई तेल ट्यांकरमा आक्रमण गरेको र उद्धार टोलीले चालक दललाई सुरक्षित स्थानमा लगिरहेको जनाएको छ । युके मेरिटाइम ट्रेड अपरेसन्सले पनि हर्मुज जलडमरूमध्यमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यबाट आक्रमणमा परेको, जसका कारण चालक दलले जहाज छाडेर लाइफबोटमा जानुपरेको जानकारी दिएको छ । यो जहाज इरानले दाबी गरेको दुई ट्यांकरमध्ये एक हो वा होइन भन्ने स्पष्ट भएको छैन ।
समुद्री विश्लेषण संस्था क्प्लरका अनुसार सोमबार हर्मुज जलडमरूमध्यबाट ६ वटा इन्धन ट्यांकर र मालवाहक जहाज यात्रामा थिए । तीमध्ये दुई जहाज इरानसँग सम्बन्ध रहेको आरोपमा अमेरिकाद्वारा प्रतिबन्धित थिए । १९ जुलाईमा ८ वटा जहाज पार भएका थिए भने २० जुलाईमा अधिकांश जहाज इरान नजिकको उत्तरी मार्गबाट यात्रा तय गरेका थिए ।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले बहराइनमा रहेको अमेरिकी कम्पनी अमेजनको डेटा सेन्टरलाई क्रुज मिसाइल प्रहार गरी ध्वस्त पारेको दाबी गरेको छ । जोर्डनले मंगलबार पाँच वटा ड्रोन खसालेको जनाएको छ । यसअघि सोमबार राति तीन वटा मिसाइल पनि खसालिएको थियो । बहराइनले इरानबाट प्रहार गरिएका ड्रोनले आफ्नो हवाई नेभिगेसन प्रणालीलाई निशाना बनाए पनि हवाई सेवा प्रभावित नभएको जनाएको छ। कुवेतले पनि इरानी ड्रोन अवरोध गरिएको जानकारी दिएको छ । युद्ध चर्किँदै गए पनि दुवै पक्षबीच मध्यस्थमार्फत कूटनीतिक सन्देश आदानप्रदान भने जारी रहेको तेहरानले जनाएको छ, यद्यपि युद्धविराम पूर्ण रूपमा विफल भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !