मेयरका स्वकीय सचिव रिहा
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरे रिहा भएका छन्। प्रहरीले सोमबार झन्डै ९ घण्टा आफ्नो नियन्त्रणमा राखेर साँझ रिहा गरिदिएको हो।
सोमबार बिहान साढे १० बजेतिर पर्सा जिल्ला अदालत परिसर अगाडिबाट प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साबाट साँझ साढे ७ बजेतिर रिहा गरेको हो।
पर्सा जिल्ला अदालतबाट मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा त्यसै बारेमा कानुनी प्रक्रिया बुझ्न सोमबार बिहान घिमिरे अदालत नजिकै रहेको अधिवक्ता कमलमोहन पोखरेलको कार्यालयमा गएका थिए। उनलाई सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगेका थिए।
तर, झन्डै ९ घण्टा राखेर सोधपुछ गर्दा पनि नियन्त्रणमा राख्ने कुनै आधार प्रमाण नभेटिएपछि प्रहरीले साँझ रिहा गरिदिएको प्रहरी श्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले पक्राउ पुर्जी जारी भएका मेयर सिंह निकट घिमिरे भएका कारण सिंहको बारेमा सामान्य सोधपुछ गर्नका लागि घिमिरेलाई ल्याएको बताए। उनले भने, `मेयरसाबको बारेमा हामीले उहाँसँग सोधपुछ गर्यौं, तर उहाँविरुद्ध कुनै कसुर नभएका कारण प्रहरीमा राखी राख्नुपर्ने कारण केही थिएन, त्यसैले साँझ घर पठाइ दियौं।´
दिनभर प्रहरी नियन्त्रणमा रहेर साँझ छुटेका घिमिरेले मेयर सिंहकै बारेमा सोधपुछका लागि प्रहरीले आफूलाई प्रहरी कार्यालयमा लिएर गएको बताए। नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध गत मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलिपल्टै बुधबार बिहान मेयर सिंह पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालत प्रशासन कक्षमा पुगेका मेयर सिंहले आफूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्याउन स्वेच्छाले आफू अदालतमा उपस्थित भएको बताएका थिए। तर त्यसदिन चाप बढी भएका कारण मुद्दाको सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि अदालतबाट फर्किएको उनले बताएका थिए।
मेयर सिंहले अदालतको समन्वयमै रहेको भन्दै सार्वजनिक बिदा सकिएपछि फेरि अदालतमा उपस्थित हुने जानकारी अदालत प्रशासनलाई गराएर अदालतबाट फर्किएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस !