बाजुरामा ढुंगा प्रहारबाट एक युवकको हत्या, १९ वर्षीय किशोर पक्राउ
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलामा आपसी विवादका क्रममा एक युवकको हत्या भएको छ। स्थानीय १९ वर्षीय टेकेन्द्र रावतको ढुंगा प्रहारबाट ३२ वर्षीय निर रावतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार राति दुई पक्षबीच सामान्य विवाद हुँदा टेकेन्द्रले निरमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका निरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए।
घटनालगत्तै खटिएको इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले हत्यामा संलग्न आरोपी टेकेन्द्र रावतलाई राति नै नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहीकै नेतृत्वमा विशेष टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। मृतकको शव हाल घटनास्थलमै सुरक्षित राखिएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !