निर्माणाधीन घरको टपसहितको पर्खाल खस्दा च्यापिएर महिला मजदुरको मृत्यु
वीरगन्ज : वीरगन्जमा निर्माणाधीन घरको टपसहितको पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर महिला मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका-४ की ३२ वर्षीया सीतादेवी मुसहर रहेकी छन्। वीरगन्ज महानगरपालिका-६ मा ओम अग्रवालको नयाँ घर निर्माणका क्रममा बिहीबार दिउँसो निर्माणाधीन घरको टपसहित इँटाको पर्खाल अचानक भत्किएर खस्दा त्यसमा च्यापिएर त्यही काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्कालै उद्धार गरेर नारायणी अस्पतालमा लग्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !