किन क्रूर बन्दैछ नेपाली समाज, देशभर जघन्य हत्याको शृंखला बढ्दो
काठमाडौं : देशभर पछिल्लो समय जघन्य हत्या र अपराधका घटना चिन्ताजनक रूपमा बढिरहेका छन्। क्षणिक आवेग, पारिवारिक कलह, आर्थिक प्रलोभन र मानसिक तनावका कारण समाज दिनानुदिन क्रूर बन्दै गएको प्रहरी तथ्यांक र हालैका घटनाक्रमहरूले देखाउँछन्।
चालू आर्थिक वर्ष २०८२/८३ को सुरुदेखि चैत मसान्तसम्म मात्रै देशभर ६ हजार ३ सय ३७ ज्यानसम्बन्धी अपराधका घटना दर्ता भएका छन्। यस्तै, सोही अवधिमा ४ हजार ९ सय ५६ जनाले आत्महत्या गरेका छन्। गत वर्ष मात्रै ९ हजार ५५ वटा जघन्य कसुरसम्बन्धी घटना दर्ता भएका थिए।
हालैका केही प्रतिनिधिमूलक जघन्य घटनाहरू
जंगलमा गाडिएको अवस्थामा शव (काठमाडौं): वैशाख २१ गते शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा तारकेश्वरकी ४५ वर्षीया सरिता तिवारी मृत भेटिइन्। वैशाख ११ देखि नै बेपत्ता भएकी उनको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको हो। हत्या आरोपमा टोखाका ३५ वर्षीय अनिल डंगोल पक्राउ परेका छन्।
साथीभाइबाटै खुकुरी प्रहार (कीर्तिपुर): वैशाख २३ गते दिउँसो करिब साढे २ बजे कीर्तिपुरको पोडेटोलमा गुल्मी धुर्कोटका विपिन घिमिरेको हत्या भयो। उनलाई चिनेजानेकै साथीहरूले बोलाएर पछाडिबाट खुकुरी प्रहार गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा महेन्द्र शाह, रवीन्द्र धामी र रोशन विष्ट पक्राउ परेका छन् भने एक जना फरार छन्। विष्ट यसअघि पनि विभिन्न कसुरमा प्रहरी हिरासतमा परेका थिए।
होटलमा रहस्यमय मृत्यु (बारा): वैशाख २५ गते बारा निजगढस्थित एक होटलमा निजगढ–१२ की सीता थिङ मृत भेटिइन्। घाइते अवस्थामा फेला परेकी उनलाई अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनीसँगै होटलमा बसेका युवक भने फरार छन्।
व्रतबन्ध कार्यक्रममा हत्या (बाँके): बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा व्रतबन्ध कार्यक्रममा गएका २२ वर्षीय विशालचन्द्र ठकुरीको हत्या भएको छ। वैशाख २२ गते बिहान करिब २ बजे सामान्य विवाद हुँदा उनीमाथि बोतल प्रहार गरिएको प्रहरीले जनाएको छ।
लुटपाटका लागि वृद्ध दम्पतीको हत्या (नवलपरासी): नवलपरासीको देवचुली–१६ टाँडीकोटमा चैत २२ गते ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाबसनिया थनेत आफ्नै घरमा मृत भेटिए। लुटपाटका क्रममा दम्पतीको हत्या गरेको आरोपमा बागलुङ गलकोटका ३१ वर्षीय सञ्जय विक पक्राउ परेका छन्। उनी यसअघि पनि हत्या मुद्दामा जेल परेका र पछि कारागारबाट भागेका व्यक्ति भएको प्रहरीको भनाइ छ।
घरेलु हिंसा र पुरानो विवाद (गुल्मी/नुवाकोट): वैशाख २९ गते गुल्मीमा श्रीमान्को कुटपिटबाट श्रीमती एमी कुमालको मृत्यु भयो। उता नुवाकोटमा पुरानो विवादका क्रममा छिमेकीद्वारा हत्या गरिएका दुई दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ।
किन बढ्दै छन् यस्ता घटना ?
समाजमा दण्डहीनता बढ्दै जानु, शान्ति सुरक्षाको अवस्था कमजोर हुनु र साना–साना विवादमै ज्यान लिने प्रवृत्तिका कारण घटनाहरू बढेको सरोकारवालाहरू बताउँछन्।
देशभरका धेरैजसो घटनामा चक्कु र खुकुरीजस्ता घरेलु हतियार प्रयोग हुने गरेका छन् भने पीडितहरूमा महिला, वृद्धवृद्धा र बालबालिका बढी छन्।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अधिकांश जघन्य हत्या पूर्वयोजनाभन्दा पनि क्षणिक आवेग, व्यक्तिगत विवाद, पारिवारिक समस्या र मानसिक तनावका कारण हुने गरेका छन्। ‘सामाजिक सञ्जालको दुरुपयोग र आवेग नियन्त्रण गर्न नसक्नु अपराध बढ्नुका मुख्य कारण हुन्। यस्ता घटना रोक्न परिवार, समाज र समुदाय सबैको भूमिका महŒवपूर्ण हुन्छ,’ प्रवक्ता काफ्ले भन्छन्।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख रमेश थापाका अनुसार कुनै पनि अपराधको एउटै मात्र कारण हुँदैन। पारिवारिक, मानसिक, आर्थिक तथा सम्बन्धगत विवादहरू जेलिएर यस्ता घटना हुने गरेका छन्। उनले घर–परिवार र छरछिमेकमा कुनै पनि शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउनुपर्नेमा जोड दिए।
मनोविद् तारा अधिकारीका अनुसार मानिसले आफ्नो कुण्ठा, रिस र निराशाभित्रै दबाएर राख्दा मानसिक समस्या बढ्छ, जसले अन्तत: हिंसात्मक व्यवहार निम्त्याउन सक्छ। ‘आर्थिक प्रलोभन, सम्बन्धगत तनाव र आवेग नियन्त्रणको कमीले मानिसलाई अपराधतर्फ धकेलिरहेको छ। कतिपय व्यक्तिमा जन्मजात आपराधिक प्रवृत्ति पनि हुन सक्छ, तर वातावरण, परिवार र संगतले त्यसलाई अझ बढावा दिन्छ। विशेषगरी मानसिक रोग, डिप्रेसन, एन्जाइटी र व्यक्तित्व विकार भएका व्यक्तिहरूमा आत्मघाती वा आक्रामक व्यवहार देखिन सक्छ,’ मनोविद् अधिकारीले भनिन्।
बढ्दो अपराध नियन्त्रण र सचेतनाका लागि नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत देशभर जनचेतना अभियान सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत स्कुल, कलेज र विश्वविद्यालयहरूमा अपराध, लागुऔषध दुव्र्यसनी, साइबर अपराध र आत्महत्या रोकथामसम्बन्धी विभिन्न शिक्षामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। विशेषज्ञहरूले भने निरन्तर विवाद हुने परिवार र व्यक्तिहरूको मानसिक स्वास्थ्यप्रति समयमै ध्यान दिनु आवश्यक रहेको औंल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !