क्याम्पसका प्रमुखलाई दलियो मोसो, दुई कर्मचारी पक्राउ
वीरगन्ज : वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुुख किशोरी रायलाई एक समूहले लछारपछार गर्दै कालोमोसो दलेका छन् । बिहीबार बिहान क्याम्पस परिसरभित्रै पाँच–छ जनाको संख्यामा रहेको एक समूहले क्याम्पस प्रमुख रायसलाई दुर्व्यहार गर्दै मोसो दलेका हुन् ।
सामुदायिक क्याम्पस हरिखेतानलाई सञ्चालक समितिले हस्तक्षेप गरेर निजीकरण गर्न खोजेको भन्दै विगत एक वर्षदेखि पटक–पटक विवाद हुँदै आएको छ । पछिल्लो समय पुनः नियुक्त गरिएका क्याम्पस प्रमुख राय र सञ्चालक समितिको मिलोमतोमा करारमा अध्यापनरत चार जना शिक्षकहरुलाई सेवाबाट निष्काशन गर्ने निर्णय गरिएपछि विवाद झनै चर्किएको थियो ।
क्याम्पस प्रशासनले यहि वैशाख २१ गतेदेखि लागू हुने गरी शिक्षकहरु लालकिशोरप्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शिक्षक र कर्मचारीहरुले क्याम्पसमा ताल्चा लगाउनुका साथै धर्ना दिदैं आएका थिए । क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि नमानेपछि विवाद बढ्दै गएकोमा बिहीबार उनीमाथि मोसो दलिएको हो ।
क्याम्पस प्रमुख रायलाई मोसो दलेर दुर्व्यहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा क्याम्पसकै दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !