बारा र पर्साबाट १४ लाख बढीको कपडा र किराना सामान बरामद
वीरगन्ज : बारा र बाराका दुई स्थानबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र किराना सामान बरामद गरेको छ। भारतबाट राजस्व छलेर भित्र्याइएको (तस्करीको ) कपडा र किराना सामान गरी १४ लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो।
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ कटुवा विर्ताटोलास्थित एक गोठमा लुकाएर भण्डारण गरी राखिएको १७ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौंलाले जानकारी दिए।
वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको भन्सार कर्मचारी सहितको टोलीले बरामद गरेको उक्त कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको निरौलाले बताए।
यसैगरी शनिबार नै पर्साको जिराभवानी गाउँपालिका-१ बलुवास्थित नेपाल–भारत सीमा नजिक रहेका घरहरूमा भण्डारण गरी राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँको किराना सामानपनि बरामद गरिएको निरौलाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !