विद्यालयहरू आइतबार बन्द नगर्न माग गर्दै ज्ञापनपत्र
वीरगन्ज : अभिभावक संघ पर्साले जिल्लामा रहेका सम्पूर्ण विद्यालयमा आइतबार बिदा नदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ।
बिहीबार संघका अध्यक्ष सन्दीप साहले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन्। संघीय सरकारले सरकारी कार्यालयसँगै सामुदायिक तथा संस्थागत विद्यालयहरू पनि हप्ताको दुई दिन शनिबार र आइतबार बन्द गर्न नयाँ नियम लगाएको छ। त्यसैअनुसार पर्सामा विद्यालयहरू आइतबार पनि बन्द रहँदै आएको छ।
संघका अनुसार आइतबार बिदाका कारण धेरै बालबालिका मोबाइल, टिभी तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्। जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको भन्दै साहले शिक्षा नियमावलीमा एक वर्षमा विद्यालय न्यूनतम् २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था रहेको उल्लेख रहेकाले अतिरिक्त बिदाले शैक्षिक गुणस्तरमा असर परेको बताए। अभिभावक संघले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन, विद्यार्थीहरूको नियमित पठनपाठन सुनिश्चित गर्न तथा भविष्यप्रति जिम्मेवार बनाउन आइतबारको बिदा हटाउन सरकारसँग माग गरेको अध्यक्ष साहले बताए।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा अध्यक्ष सन्दीप साहसँगै कोषाध्यक्ष कन्हैया पटेल, अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी, धिरेन्द्र तिवारी लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस !