धादिङका महिला पञ्चैबाजा बजाएर परम्परा जोगाउँदै, आम्दानी पनि गर्दै

धादिङका महिला पञ्चैबाजा बजाएर परम्परा जोगाउँदै, आम्दानी पनि गर्दै
सुन्नुहोस्

धादिङ : धादिङको गजुरी गाउँपालिका–१ गजुरीमा केही समययता फरक दृश्य देखिन थालेको छ । परम्परागत रूपमा पुरुषले बजाउँर्दै आएको पञ्चैबाजा अहिले महिलाहरूले समेत बजाउन थालेका छन् । मौलिक संस्कृति संरक्षणसँगै महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको पञ्चैबाजा तालिमले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय धादिङको आयोजनामा एक महिनासम्म सञ्चालन भएको तालिममा १५ जना महिला सहभागी भएका थिए । उनीहरूले सहनाइदेखि दमाहासम्मका बाजा बजाउने व्यावहारिक सीप सिकेका छन् । सहभागी चरिमाया तामाङका अनुसार तालिमले केवल बाजा बजाउने सीप मात्र नभई आत्मविश्वास र सामाजिक सहभागिता पनि बढाएको छ ।

सामाजिक विकास कार्यालय धादिङका प्रमुख रमेश घिमिरेका अनुसार विवाह, ब्रतबन्ध, छेवर जस्ता शुभकार्यमा पञ्चैबाजा बजाउन बाहिरबाट वाद्यवादक बोलाउनु पर्ने बाध्यता हटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । ‘अब यी महिलाहरूले आफ्नै गाउँमा सेवा दिन सक्छन्, जसले खर्च घटाउनुका साथै आम्दानीको बाटो पनि खोल्छ’, उनले बताए । कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो तालिमले परम्परागत बाजा संरक्षणमा नयाँ पुस्ता र विशेष गरी महिलाको भूमिका अझ सुदृढ बनाएको छ ।

पञ्चैबाजा नेपाली संस्कृतिको अभिन्न हिस्सा हो, जसमा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नाल जस्ता बाजाहरू समावेश हुन्छन् । यस्ता मौलिक बाजा लोप हुने चिन्ता बढिरहेका बेला गजुरीमा भएको यो प्रयासले संरक्षण र प्रवर्द्धनमा नयाँ आशा जगाएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । स्थानीय महिलाहरूका लागि यो तालिम केवल सीप सिक्ने अवसर मात्र नभई आत्मनिर्भर बन्ने महत्वपूर्ण आधार बनेको छ । परम्परा जोगाउँदै रोजगारी सिर्जना गर्ने यस्तो पहलले अन्य स्थानमा पनि प्रेरणा दिन सक्ने गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले बताइन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.