बसाइँसराइको केन्द्र बन्दै हेटौंडा, बढ्दै जनघनत्व
हेटौंडा : पछिल्लो केहि बर्षयता हेटौंडालाई बसोबासका लागि उपयुक्त ठानेर बसाइँसरी आउनेको संख्या बढ्दै गएको छ । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार उपमहानगरपालिकाभित्र बिभिन्न जिल्लाबाट बसाइँसरी आउनेको बढेको देखाएको हो ।
पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार २०७९/०८० मा बसाइँसरी आउनेको संख्या एक हजार २४, २०८०/०८१ मा ९५९, २०८१/०८२ मा ८१९ र चालु आर्थिक बर्ष २०८२/०८३ को बैशाख सम्ममा ५९३ परिवार बसाइँसरी हेटौंडा आएका छन् । त्यस्तै शाखाका अनुसार २०७९/०८० मा ५६६, २०८०/०८१ मा ५८६, २०८१/०८२ मा ४८० र चालु आर्थिक बर्ष २०८२/०८३ को बैशाखसम्ममा ३५३ परिवार बसाइँसरी अन्यत्र गएका छन् ।
शाखाका अनुसार तराईका जिल्लाहरु बारा, पर्सा, रौंतहट, सर्लाही र महोत्तरीबाट हेटौंडालाई बसाइँ सराइको गन्तव्य बनाए आउनेहरुको संख्या बढि मात्रामा देखिएको छ । हेटौंडामा बसोवासका लागि आउनेहरुले बढिजसो उपमहानगरको ४, ५, ७, ८ नम्बर वडालाई रोज्ने गरेको शाखाको तथ्याङ्कले देखाएको छ । रोजगारी, व्यापारिक गतिविधि, संघीय राजधानी काठमाण्डौंसँगको सहज पहुँच, शिक्षा र स्वास्थ्यको राम्रो सम्भावना भएका कारण हेटौंडाको जनघनत्व बढेको बताइएको छ ।
हेटौंडा स्थित मकवानपुर बहुमुखी क्याम्पसका स्वास्थ्य, जनसंख्या तथा शिक्षा बिभाग प्रमुख तथा सहप्राध्यापक उमेश अर्यालयका अनुसार तराई आन्दोलनपछि हेटौंडालाई सुरक्षित स्थान बनाउँदै आउनेको संख्या बढेको थियो तर अहिले यो सबै हिसाबले उपयुक्त रहेको भन्दै बसाइँको लागि आउनेको संख्या बढेको उनले बताए ।
उनले भने, ‘पछिल्लो समय नगरपालिकाबाट उपमहानगर हुनु र बागमती प्रदेशको राजधानी भएपछि सम्भावनाको खोजी गर्दै आउनेको संख्या बढेको छ ।’ मकवानपुरको बिभिन्न गाउँपालिकाबाट उपमहानगरको क्षेत्र बिस्तारपछि यहाँ आउनेको संख्या बढेको देखिन्छ भने तराई प्रदेशबाट बिद्यालय तह र उच्च शिक्षाको अध्ययनको गन्तव्यको रुपमा हेटौंडालाई छनौंट गरी आउँदा जनघनत्व बढेको उनको बुझाई छ ।
मौसमको हिसाबले अन्य क्षेत्रको तुलनामा हेटौंडालाई उत्कृष्ट मानिने गरेको छ । जाडो र गर्मी समयको मौसम अन्यत्रको भन्दा सहज हुने भएकाले यहाँ मानिसको आगमन बढेको छ । हेटौंडा तराई र पहाडको बीचमा रहेका कारण मौसम र भू–स्थितिको हिसावले अनुकूल भएकाले बसोवासका उपयुक्त मानिने जनसंख्या विषयका शिक्षक अर्यालले बताए ।
जनघन्त्वलाई ध्यान राखेर काम गरेका छौं : नगर प्रमुख
बढ्दो जनघनत्वको चापलाई सहज बनाउनका लागि नगरको बिकासको गतिलाई अघि त्यहि अनुसार अघि बढाएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । हेटौंडा उपमहानगरपालिकालाई बसाइँको गन्तव्य बनाएर आउनेहरुको सेवालाई व्यवस्थापन गर्नका लागि योजना बनाएर कामलाई अघि बढाएको उनले बताइन् । पछिल्लो समय शिक्षा, स्वास्थ्य रोजगारी र व्यवस्थित बसाइँलाई आधार बनाएर आउनेको व्यवस्थापनमा काम गरेको उनको भनाई थियो ।
नगर प्रमुख लामाले भनिन्, ‘हामीले शिक्षा, स्वास्थ्यको व्यवस्थापनसहित सुन्दर शहर बनाउनका लागि योजनावद्ध रुपमा काम गरेका छौं।’ बिद्यालयस्तरमा बढेको बिद्यार्थीको संख्यालाई ध्यान दिँदै बिद्यालय भवन, कक्षा कोठाको सुधारसहित गुणस्तरीय शिक्षालाई लागि उपमनगरले लगानी गरेको छ । स्वास्थ्य क्षेत्रलाई ध्यान दिँदै नगरका हरेका वडामा स्वास्थ्य संस्था र दुई वडामा अस्पताल सञ्चालन गरेर स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र नगरको एक मात्र हेटौंडा अस्पतालको सेवा बिस्तारमा सहकार्य गरेको बताइन् ।
व्यवस्थित बसाइँको लागि उपमहानगरले बसोबास क्षेत्र व्यवस्थापन मिलाउनका लागि जग्गा बर्गीकरण गरेको छ । उपमहानगरले गरेका बर्गीकरण अनुसार बसोबास क्षेत्र तोकिएको ठाउँमा मात्र घर बनाएर बस्न सक्ने वातबरण बताएका उनले बताइन् । हेटौंडालाई सुन्दर र स्वास्थ्य शहर बनाउनका लागि उमहानगरले दैनिक रुपमा काम गरिरहेको छ । कर्मचारी परिचालन गरेर सरसफाई र स्वस्थ्य वातावरण तयार पार्दै हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा अघि बढाइएको नगर प्रमुख लामाले बताइन् । उपमहानगरले व्यवस्थित बसाइँको लागि पछिल्लो समय नगरभित्र भएका प्लानिङमा पनि सबै खालको सुबिधालाई ध्यान दिएर काम गर्न व्यवसायीहरुलाई नियम कानुन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस !