आफ्नै आमाका लागि बोझ बनेकी शिशु हुर्काउन सयौं हुरुक्क
भक्तपुर : भक्तपुरमा जेठ ६ गते बिहानै सालनालसहित फालिएकी शिशु फेला परिन्। मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नमुना बस्तीमा सालनालसहित शिशु फेला परेको खबरले समाजमा भावनात्मक तरंग फैलियो। एकातिर जन्मनेबित्तिकै फालिनु परेको शिशुको नियतिलाई लिएर समाज चिन्तित भयो भने अर्कोतिर तिनै शिशुलाई आफ्नो काखमा राखेर हुर्काउन हुरुक्क हुने मानिसहरू पनि देखा परे।
पोखराकी पूजा मगर (नाम परिवर्तन) चारपटक गर्भ खेर गएको र चिकित्सकले बच्चा जन्माउन नसक्ने बताएपछि विक्षिप्त थिइन्। सालनालसहित फालिएकी शिशुको खबरले उनको मातृत्व भक्कानियो। उनी शिशुलाई आफ्नो सन्तानको पहिचान र माया बाँड्न भावुक भएकी छन्।
काठमाडौंका सागर श्रेष्ठ (नाम परिवर्तन) पनि फालिएकी शिशुलाई आफ्नी छोरी बनाएर राख्न चाहन्छन्। आफूलाई पहिल्यैदेखि छोरीको चाहना भएको तर दुई छोरा मात्र भएकामा उनी दुखेसो पोख्छन्। ‘एउटा जापान र अर्को युरोपमा छ,’ उनले भने, ‘यी छोरी पाए हाम्रो रहर पूरा हुने थियो र बुढेसकालको सहारा पनि पाउने थियौं।’
देशभित्रबाट मात्र होइन, देशबाहिरबाट पनि शिशुलाई सन्तान बनाउन दर्जनौं मानिस इच्छुक देखिएका छन्। पोर्चुगल बस्ने एक गैरआवासीय नेपाली दम्पती शिशुको खबरले आँसु आएको बताउँछन्। उनीहरूले शिशुलाई धर्मपुत्रीका रूपमा राख्न चासो देखाएका छन्। आफूहरूले शिशुलाई गुणस्तरीय जीवन दिन सक्ने उनीहरूको भनाइ छ।
मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले शिशुलाई पाल्न थिमिवासीले पनि इच्छा देखाएको खुलासा गरे। तर, धर्मपुत्र–पुत्री राख्न दिने अधिकार स्थानीय सरकारसँग नभएको उनी बताउँछन्। ‘उक्त शिशुलाई एडप्ट गर्न चाहेको निवेदन लिएर नगरकै इच्छुकहरू सम्पर्कमा आउनुभयो। तर, हामीसँग कानुन नभएकाले निवेदन नै दर्ता गरेनौं,’ उनले भने। शिशुलाई राखिएको भक्तपुर अस्पतालमा समेत मानिसहरूले शिशुलाई आफ्नो सन्तान बनाउने इच्छा जाहेर गर्दै सम्पर्क गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए।
एउटी आमालाई के कारणले सालनालसहित शिशु परित्याग गर्न बाध्य बनायो भन्ने तथ्य रहस्यकै गर्भमा लुकेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले सालनालसहित शिशु फ्याँक्नेहरूको पहिचान खुल्न नसकेको बताएका छन्। ‘हामीले अनुसन्धान गर्यौं तर कुनै क्लु पाउन सकेनौं,’ उनले भने।
शिशुको स्वास्थ्य सामान्य
भक्तपुर अस्पतालका डा. सुरेन्द्र भट्टका अनुसार शिशुको स्वास्थ्य अवस्था राम्रो छ। बच्चाको तौल साढे दुई किलो रहेको उनले बताए। ‘हामीले आवश्यक स्वास्थ्य परीक्षण गर्यौं, स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने। डा. भट्टका अनुसार बच्चालाई विशेष हेरचाह कक्षमा राखी सुरुदेखि नै फर्मुला दूध खुवाइएको थियो र बच्चाले त्यसलाई सजिलै ग्रहण गर्दै आएको पाइएको छ।
शिशुलाई बालमन्दिर पुर्याइयो
नवजात शिशुलाई भक्तपुर अस्पतालमा आवश्यक स्वास्थ्य निगरानीपछि मध्यपुर थिमि नगरपालिकामार्फत जिल्ला बालकल्याण समिति हुँदै केन्द्रीय बालकल्याण समिति, बालमन्दिर नक्साल पठाइएको थिमि वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक निसान थापाले बताएका छन्।
भक्तपुरमा जन्मिएकी ती शिशुको यहाँ नामाकरणसमेत हुन सकेन। सयौं मानिस नवजात शिशुलाई आफ्नो सन्तान बनाउन मरिहत्ते गरिरहँदा बालमन्दिर पुर्याउनुको साटो यहीँका योग्य परिवारलाई दिन नसक्नु कमजोरी भएको नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्वअध्यक्ष जगतकृष्ण प्रजापतिले प्रतिक्रिया दिएका छन्। ‘आफ्नै पालिकामा जन्मेकी शिशुको जिम्मा लिन अथवा योग्य परिवार छानी जिम्मा दिन सक्नुपथ्र्यो,’
प्रजापतिले भने।
भक्तपुरका उपअनुसन्धान निर्देशक हेमन्त कार्की भने भावनात्मक तवरले भन्दा कानुनी प्रक्रियाले मात्र यस्ता समस्या समाधान हुने भएकाले शिशुलाई बालमन्दिरको संरक्षणमा पुर्याउनु परेको बताउँछन्। ती शिशुलाई आफ्नी छोरी बनाउन चाहने मातापितालाई बालमन्दिरमा सम्पर्क गर्न उनले सुझाव
दिएका छन्।
प्रतिक्रिया दिनुहोस !