गर्मीले विद्यार्थी बेहोस भएर ढल्न थालेपछि बर्दिबासका विद्यालय बिदा
महोत्तरी : गर्मी असह्य भएर जनजीवन अस्तव्यस्त भएपछि बर्दिवास नगरपालिकाले स्थानीय बिद्यालयहरुमा दुई दिनका लागि गर्मी विदा दिइएको छ । बर्दिवास नगरपालिकाको कार्यालयले जारी गरिएको सूचना अनुसार नगरभरिका सञ्चालित सामुदायिक, निजी तथा धार्मिक बिद्यालयहरुमा बिहीबार र शुक्रबार गरी दुई दिनका लागि विदाको प्रबन्ध गरिएको छ ।
अत्याधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि यहाँ सञ्चालित सम्पूर्ण विद्यालयहरुमा गर्मी विदा मिलाइएको प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जनाएको छ । निरन्तर बढ्दो तापक्रम र लुका कारण विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको अधिकारीले बताए ।
पछिल्ला केही दिनयता बर्दिबास आसपासका क्षेत्रका तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । जसले गर्दा अधिकांश विद्यालय भवनमा जस्तापाताको छाना भएकाले कक्षाकोठाभित्र अत्यधिक गर्मी हुने गरेको छ । दिन चर्किँदै जाँदा तातो हावाका कारण विद्यार्थीहरू उकुसमुकुस भई कक्षामै बेहोस हुने खतरा बढ्दै गएको शिक्षकहरूको भनाइ छ ।
मंगलबार बर्दिबास–९ स्थित पशुपति नगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थी पालैपालो बेहोस भएर ढलेका थिए । विद्यालयमा त्रासको अवस्था सिर्जना भएको थियो । यसभन्दा अघि गौशालास्थित मावि कान्तिबजारमा पनि १० जना छात्राहरु गर्मीका कारण कक्षाकोठामै बेहोस भएका थिए । नगरपालिका कार्यालय स्रोतका अनुसार १४ वटा वडा रहेको बर्दिबास नगर क्षेत्रमा ५० सामुदायिक, २९ संस्थागत र ३ धार्मिक गरी कुल ८२ विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस !