रुपन्देहीमा प्रहरीको ‘स्वीप अप्रेसन’ : थप ८३ जना नियन्त्रणमा
भैरहवा : रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट थप ८३ जनालाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले शनिवार जिल्लामा विशेष स्वीप अप्रेसन चलाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै दुई घण्टामा १०३ जनालाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटका अनुसार, आइतबार बेलुका ६ बजेदेखि राती १० बजेसम्म (४ घण्टा) चलाइएको स्वीप अप्रेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँचको क्रममा ८३ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका ८३ जनाले शान्ति सुरक्षामा खलल पुर्याएको रुपन्देही प्रहरीको दावी छ। शनिबार र आइतबार गरी नियन्त्रणमा लिइएका १८६ जनाको नाम, थर, वतन भने प्रहरीले सार्वजनिक गरेको छैन।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !