उपत्यकाको डुबान ‘जलवायु परिवर्तन’मात्रै हो त !

उपत्यकाको डुबान ‘जलवायु परिवर्तन’मात्रै हो त !
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा बाढी र डुबानको इतिहास नयाँ भने होइन। विक्रम संवत् १९२३ (सन् १८६६) मा बागमती नदीमा यस्तै एउटा भीषण बाढी आएको थियो। त्यसबेला मुलुकमा जंगबहादुर राणाको हुकुमी शासन थियो। बाढीको प्रकोप यति भयावह थियो कि काठमाडौंका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द गरिएका थिए भने तत्कालीन राजा स्वयम् सुरक्षित रहन नागार्जुन दरबार सरेका थिए।

वरिष्ठ मौसमविद् अजय दीक्षितका अनुसार काठमाडौं उपत्यकामा बाढीको लिखित इतिहास खोतल्दा फेला पर्ने यो नै सम्भवतः सबैभन्दा पुरानो प्रमाण हो। तर, उबेला र अहिलेको बाढीमा आकाश–पातालको फरक छ। दीक्षित भन्छन्, ‘त्यतिबेला माटोका घर र झिंगटीका छाना हुन्थे। जताततै सिमेन्टले ढालिएको थिएन। मुसलधारे वर्षा भए पनि जमिनले पानी सोस्थ्यो र बाढी नदी किनारमा मात्रै सीमित हुन्थ्यो, अहिलेको जस्तो जताततै सहरै डुबानमा पर्दैनथ्यो।’

सहरीकरणको ओभरडोज

दीक्षितको भनाइलाई वैज्ञानिक अनुसन्धानले पनि स्पष्ट पुष्टि गर्छन्। ‘र्‍यापिड अर्गनाइजेसन एन्ड क्लाइमेट चेन्जः की ड्राइभर अफ ड्रामाटिक फ्लड इम्प्याक्ट इन काठमाडौं’ शीर्षकको अध्ययनअनुसार सन् १९९० देखि २०२० सम्मको ३० वर्षमा उपत्यकामा भौतिक संरचनाको निर्माण ३८६ प्रतिशतले बढेको छ भने सन् १९८९ देखि २०१९ सम्ममा २८ प्रतिशत वन विनाश भएको छ।

जलवायु अध्येता तथा अति कम विकसित देश सहायता टोलीका प्रमुख मन्जित ढकालका अनुसार उपत्यकाको बाढीमा जलवायु र सहरीकरणको भूमिकाबारे गरिएको यो नै पहिलो वैज्ञानिक अध्ययन हो। 

पृथ्वीको औसत तापमान १.३ डिग्री सेल्सियसले बढ्दा मौसमी घटना १० प्रतिशतले बढेका छन्, तर काठमाडौंलाई डुबाउनमा ७० प्रतिशत भूमिका भने अव्यवस्थित सहरीकरणकै छ। ढकाल भन्छन्, ‘काठमाडौंमा २८ प्रतिशत वन विनाश भएको छ भने ३८६ प्रतिशत सहरीकरण बढेको छ। जलवायु परिवर्तनका कारण यस्ता मौसमी घटना १० प्रतिशतले बढेका छन्, तर सहरीकरणका कारण बाढी आउने सम्भावना ७० प्रतिशतले बढेको छ।’

जमिन मात्र हेर्‍यौं पानी बिर्सियौं

दक्षिण एसियाली मुलुकहरूमा विकासको अवधारणा नै गलत जगमा उभिएको मौसमविद् दीक्षितको तर्क छ। सन् १९९७ मा ‘साउथ एसियाज डेभलपमेन्ट इज अन ल्यान्ड एट द कस्ट अफ वाटर’ शीर्षकको घोषणापत्र लेखेका दीक्षित भन्छन् कि उपनिवेश काल (सन् १७९३ तिर) मा इस्ट इन्डिया कम्पनीले ल्याएको ‘स्थायी बसोबास ऐन’ देखि नै पानीलाई थुन्ने र तटबन्ध बनाउने परम्परा बस्यो, जसले पानीको सहज बहावलाई अवरुद्ध गर्‍यो।

हामीले ढल, नाला, खहरे र भूगर्भीय पानीको निकासलाई पूरै बेवास्ता गर्‍यौं। नतिजा स्वरूप, आज माइतीघर जस्ता होचा क्षेत्रहरू थोरै पानी पर्दा पनि तलाउमा परिणत हुन्छन्।

प्राकृतिक निकासमाथि कंक्रिटको ‘सिलबन्दी’
जलाधारविज्ञ तथा जलवायु क्षेत्रका लेखक मधुकर उपाध्याय उपत्यकाको डुबानलाई सोझै मानिसले गरेको प्राकृतिक अतिक्रमणको सजाय मान्छन्। विगतका खुला क्षेत्रहरू स्मरण गर्दै उपाध्याय भन्छन्– पहिले माइतीघर, सेनाको मुख्यालय, स्वास्थ्य मन्त्रालय, सर्वोच्च अदालत परिसर र सिंहदरबारभित्रका धेरै भूभाग खुला थिए। वर्षाको पानी सजिलै जमिनभित्र छिथ्र्यो। अहिले ती सबै ठाउँमा ठूला भवन र कंक्रिट ढलान बनेका छन्।

खोला किनारमा २० मिटर छाड्नुपर्ने नियम लत्याएर खोलामै घरहरू ठड्याइएका छन्। खोलालाई दुवैतिर पर्खालले च्यापेर साँगुरो बनाउँदा पानीको बहाव पहिलेभन्दा दोब्बर छिटो भएको छ। ‘क्षति हुन्छ भन्ने यथार्थलाई स्वीकार्नुपर्ने अवस्था आएको छ। प्रकृतिले बनाएको बाटोलाई मानिसले चलाउनै हुँदैनथ्यो। पानीको चरित्रअनुसार डिजाइन गरिएका संरचनाहरू भत्काएर मानिसले पानीको बाटोमा अवरोध सिर्जना गर्‍यो,’ जलाधारविज्ञ उपाध्याय भन्छन्।

उत्तरमा बस्ती, दक्षिणमा सुक्खाः फेरिएको वर्षाको नक्सा

सन् १९७१ देखि २०२३ सम्मको अध्ययनअनुसार काठमाडौं उपत्यकाको समग्र वार्षिक वर्षा प्रतिवर्ष ०.९४ मिलिमिटरका दरले घट्दो क्रममा छ। टोखा, सुन्दरीजल र साँखु (उत्तरी क्षेत्र) मा बढी वर्षा हुन्छ भने खोकना, खुमलटार र लेले (दक्षिण–पश्चिम) तिर वर्षा घट्दै गएको छ। वार्षिक कुल वर्षा घटे पनि चरम र मुसलधारे वर्षा भने बढेको छ।

जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहार्द जोशीका अनुसार उत्तरी जलाधार क्षेत्र (शिवपुरी र सुन्दरीजल) मा वन मासिएर कंक्रिट बस्ती बाक्लिएपछि जोखिम झनै बढेको छ। ५ वर्षअघि ६० मिलिमिटर वर्षा हुँदा पनि जोखिम सामान्य हुन्थ्यो। सुन्दरीजल क्षेत्रमा ३० देखि ४० मिलिमिटर वर्षा हुनासाथ विष्णुमती र बागमतीमा बाढी आइहाल्छ। जमिनले पानी नसोस्ने भएकाले वर्षाको पानी खोलासम्म पुग्ने समय निकै छिटो भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले पनि मनसुनमा सरदरभन्दा कम वर्षा हुने आकलन गरिएकै वर्षमा पनि अप्रत्याशित रूपमा आकस्मिक बाढी को उच्च जोखिम रहने चेतावनी दिइसकेका छन्।

चेत्ने कि डुब्ने ?  

मौसमविद् दीक्षित भन्छन्, ‘जलवायु परिवर्तनले वर्षाको शैली र ढाँचामा परिवर्तन ल्याए पनि बाढी र डुबान मुख्यतया मानवीय अतिक्रमणकै परिणाम हो।’ जंगबहादुरको पालामा परेको पानीले राजालाई नागार्जुन पुर्‍याएको थियो, तर त्यो प्रकृतिको आफ्नै चक्र थियो। आजको काठमाडौं डुब्नुमा भने प्रकृतिभन्दा बढी हाम्रा अव्यवस्थित कंक्रिटका ढिस्कोहरू र नाली थुन्ने सहरिया विकास जिम्मेवार छन्।

विकसित राष्ट्रहरूका लागि समेत चुनौती बनेको यो विपद्बाट जोगिन अब एकीकृत ढल व्यवस्थापन, खुला जलाधार क्षेत्रको पुनस्र्थापना र नदी किनारको अतिक्रमण रोक्नुको विकल्प छैन। प्रकृतिले बनाएको पानीको बाटो उसैलाई फर्काइदिन सकिएन भने आउने दिनमा काठमाडौंले अझ ठूलो मूल्य चुकाउनुपर्ने पक्का छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.