पानी जहाज इन्जिनीयरको अवस्था अझै अज्ञात, रिहाईको लागि कुटनीतिक पहल गर्न परिवार र पालिकाको आग्रह
उदयपुर : थाइल्याण्डको बैंककमा मरिन इन्जिनियर (जहाज भित्रको मेसिन, इन्जिन र प्राविधिक प्रणाली सञ्चालन, मर्मत र व्यवस्थापन गर्ने इन्जिनियर) अध्ययनपछि दुबई हुँदै इरान पुगेका उदयपुरको त्रियुगा नगरपालिका ११ का ३३ वर्षीय अमृत झाको अवस्था एक साता यता अज्ञात छ।
छोरोको पढाई सकिएसँगै परिवारको पालनपोषणमा मद्दत पुग्छ भन्ने बुवा आमा ढुक्क थिए। पढाई अनुसारको काम पाएका अमृतले दुई वर्ष यता घरखर्च पनि धान्दै आएका थिए। तर, एकाएक काम गर्दै आएको छोरो घर फर्कने सूचना आएको केही दिनमै इरानी सेनाको नियन्त्रणमा रहेको खबर आएपछि परिवारमा छटपटी बढेको छ।
उनी कहाँ छन् कस्तो अवश्थामा छन् भन्ने विषयमा नेपाल सरकार, परिवार र आफन्त कसैलाई पत्तो छैन। केवल उनी केही दिन यता इरानी सेनाको नियन्त्रणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सेनाको नियन्त्रणमा रहेपनि कुन सहर र व्यारेकमा छन् अझै अन्योल छ। यद्यपी वन्दर अव्नास कारागारमा राखिएको भन्ने खबर आएको दिदी पुजा झाले बताइन्।
बेपत्ता अमृतको खोजीकार्य गरी सकुशल नेपाल सरकारलाई बुझाईदिन परिवारसँगै आफन्तजन, स्थानीय सरकारले आग्रह गरेका छन्। त्यति मात्र हैन सामाजिक संजालमार्फत नेपालीहरुले उनको अवस्था सार्वजनिक र सकुशल रिहाईको पहल गरिदिन माग गरिरहेका छन्।
झाको सुरक्षित रिहाइका लागि त्रियुगा नगरपालिकाले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई औपचारिकरुपमा पत्र लेखि कूटनीतिक पहलको माग गरेको छ। मेयर बसन्तकुमार बस्नेतले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै त्रियुगा नगरपालिका–११, गाईघाट निवासी अमृत झाको इरान सरकारसँग सुरक्षा सुनिश्चित गरी सकुशल रिहाइको पहल गरिदिन माग गरेका छन्।
पत्रमा भनिएको छ, ‘इरानी रिभोलुसनरी गार्डको नियन्त्रणमा परेको भन्ने सूचनाले परिवार, स्थानीय समुदाय, सिङो नगरपालिका र देश नै चिन्तित छ यसर्थ अमृतको तत्काल सुरक्षित रिहाइका लागि अनुरोध गर्दछु।' झा दुबईबाट इरान इन्धन बोकेर फर्किने क्रममा पर्सियन गल्फस्थित होर्मुज जलडमरु नजिकै नियन्त्रणमा परेको दिदी पुजाले बताइन्। त्यसयता उनको अवस्था र सुरक्षाबारे स्पष्ट सूचना नआएको मेयर बस्नेतले बताए।
पुर्खौली घर महोत्तरी भएका उनी बुवाको जागिरको सिलसिलामै उदयपुरको गाईघाटमा बस्दै आएका थिए। नगरपालिकाले झाको सुरक्षित स्वदेश फर्काइका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ।
त्यसैगरी चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले सेनाको नियन्त्रणमा रहेका झालाई तत्काल नेपाल फकाईदिन आग्रह गरेका छन्। मुलुकको ठूलो दलप्रति व्यङ्ग गर्दै लामाले लेखेका छन्, ‘नेपाल सरकार उर्फ रवि–बालेन्द्रजीलाई यो सनसनीपूर्ण मुटु काप्ने समाचार सुनिसक्नुभा होला। सरकारको गठन दुईचार दिन ढिलो गर्नु फरक पर्दैन तर यी परिवार पाल्न गएका उदयपुरे नेपालीलाई राज्यको सबै सम्यन्त्र प्रयोग गरेर नेपाल फर्काइदेउ ! अन्यथा कुरोले चिउरा भिजाउने बुझ्नेछन्।'
भिनाजु राजेश झाका अनुसार अमृत वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि इरान गएका हुन्। इरानको पश्चिम एसियामा उनी समुन्द्रमा यात्रा गर्ने पानीजहाजको पाइलटको रुपमा काम गर्दथे। यो क्षेत्रमा इरान–अमेरिका–इजरायलविच युद्ध चलिरहेको छ। युद्ध चलिरहेका कारण यो क्षेत्रबाट जहाज जान दिने नदिने इरानले निर्णय गर्दै आएको छ। पानीजहाज चलाउने कामकै सिलसिलामा उनी नियन्त्रणमा परेको जनाइएको छ। यद्यपी नियन्त्रणको कारण भने इरान सरकारले अझै प्रष्ट पारिसकेको छैन्।
दिदी पूजाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन दिएको बताएकी छन्। तेल बोक्ने जहाजमा पाइलटको रूपमा कार्यरत अमृतले एक साता अघि भ्वाइस म्यासेज पठाएका थिए। भाईको भ्वाईसलाई उदृत गर्दै उनले भनिन्, ‘तेल लोड हुनसाथ दुबई आएर नेपाल आउँछु। मेरो छुट्टी पनि हुने बेला भएको छ।'
भाइको त्यो खबरले उत्साहित भएकी उनको त्यो खुशी एक साता टिक्न सकेन। ‘अचानक अमृत इरानी सेनाको नियन्त्रणमा रहेको अर्को म्यासेज आएपछि अहिलेसम्म भाईलाई केहि हुने हो कि भन्ने त्रासले शरिरका भागले काम गरेका छैनन्' उनले भनिन्।
उनी यसअघि पनि जहाज लिएर तेल लिन इरान जाने गरेका थिए। यस अघि तेल लिन जाँदा त्यस्तो नभएको तर यस पटक भने हर्मुज स्टेट इलाकाबाट नियन्त्रणमा परेको दिदी पूजाले बताइन्। अमृतका बुबा जिल्ला वन कार्यालय उदयपुरका सेवानिवृत कर्मचारी हुन्। लगत्तै सदरमुकाम गाईघाटमा जुत्ता चप्पलको पसल खोली सबै परिवार गाईघाट बस्दै आएका छन्।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
