कुटपिटबाट आमा घाइते भएपछि उपचारमा गएको मौका छोपी भाइको हत्या
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-२ जोगिदह हाटखोलाचौकमा गएराति दाजुले धारिलो हतियार प्रयोग गरी भाइको हत्या गरेका छन्। घटनामा आमा गम्भीर घाइते भएकी छिन्।
जिल्ला प्रहरी प्रमुख एसपी राजन पाचागाईंका अनुसार दाजु ४३ वर्षीय युवराज राईले आफ्नै कान्छो भाइ ३० वर्षीय धर्मराज राईको हत्या गरेका हुन्। आमा अन्दाजी ५६ वर्षीया रुपमायाको समेत हत्याको प्रयास गरी गम्भीर घाइते बनाएका उनले बताए।
मादकपदार्थ सेवन गरी घर पुगेका उनले आमासँग पैसाको कुरामा विवाद गरी एक्कासि मरनासन्न हुने गरी कुटपिट गरी टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए।
कुटपिटबाट आमा घाइते भएपछि उपचारमा गएको मौकाछोपी भाइको हत्या गरेका थिए। आमा र दुई छोरा गरी तीनजना मात्र सो घरमा बस्दै आएका थिए। घटनास्थल वडा नं. १ र २ को सिमानामा पर्छ। हत्या गरी फरार रहेका युवराजको प्रहरीले खोजतलास गरिरहेको एसपी चापागाईंले बताए।
प्रतिक्रिया दिनुहोस !