११ घण्टा लामो वार्तापछि इरान सम्झौताबाट पछि हटेको ट्रम्पको आरोप
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ११ घण्टा लामो वार्तापछि पनि अन्तिम समयमा इरान पछि हटेको दाबी गरेका छन्। उनले इरानमाथि अमेरिकासँग हुन लागेको एउटा सम्भावित सम्झौतालाई अन्तिम क्षणमा बदल्ने प्रयास गरेर 'भाँडेको' आरोप समेत लगाएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकले सम्भवतः हर्मुज सञ्चालन आफैं गर्ने सम्मको चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन कुराकानीमा ट्रम्पले इरानसँग हालै भएको वार्ताबारे विस्तृत रूपमा जानकारी गराएका थिए। उनले इरानी प्रतिनिधिमण्डलसँग करिब ११ घण्टासम्म चलेको बैठकमा लगभग सबै मुद्दाहरूमा सहमति जुटिसकेको दाबी गरे।
'इरानी प्रतिनिधिहरूसँग आइतबार ११ घण्टा लामो बैठक बसेको थियो,' ट्रम्पले भने, 'त्यस क्रममा हरेक कुरामा सहमति बनेको थियो।' उनले अमेरिकासँग हुन लागेको सम्भावित सम्झौताप्रति सङ्केत गर्दै उक्त कुरा बताएका हुन्।
ट्रम्पले अगाडि थपे, 'यी मानिसहरूसँग हरेक कुरा टुङ्ग्याउन ११ घण्टा लाग्छ। वास्तवमा यो काम एक मिनेटमै भइसक्नुपर्ने थियो।'
तथापि, ट्रम्पका अनुसार बैठक सकिएपछि इरानी प्रतिनिधिहरू कोठाबाट बाहिरिएका थिए र पछि पुनः सम्पर्क गरेर उनीहरूले सम्झौतामा केही परिमार्जन गर्नुपर्ने बताएका थिए।
'उनीहरू सधैं केही न केही परिवर्तन गरिरहन्छन्। उनीहरू व्यावसायिक वार्ताकार हुन् र उनीहरूको काम नै यही हो', ट्रम्पले इरानी तर्फ कटाक्ष गर्दै भने, 'म यो पनि भन्दिनँ कि उनीहरू यस काममा धेरै खप्पिस छन्। उनीहरूले मबाट केही पनि हासिल गर्न सकेनन्।'
उनले इरानले विगत ४७ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरूलाई अल्झाएर राखेको आरोप समेत लगाए।
प्रतिक्रिया दिनुहोस !