विद्युत प्राधिकरणको स्कोरपिओ दुर्घटना हुँदा २ कर्मचारीको मृत्यु
विराटनगर : सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो गाडी दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति विद्युत लाइन मर्मतका लागि जाने क्रममा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्कोर्पियो चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
राई करारका चालक थिए भने आचार्य हेल्पर पदमा कार्यरत स्थायी कर्मचारी हुन्। नेपाल विद्युत प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारीहरू स्कोर्पियोमा गएका थिए। सोही क्रममा गाडी दुर्घटनामा परेको उनले बताए।
दुर्घटना कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलभन्दा करिब २०० मिटर दक्षिण (तरहरातर्फ) सोमबार राति करिब ११:४० बजे भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए।
उनका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको बा १ ञ १६५१ नम्बरको नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर घाइते भएका चालक राई र सहयोगी आचार्यलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनासाथ राति करिब १२:४५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा प्राधिकरणकै अर्का कर्मचारी धरान–२० का अन्दाजी ३२ वर्षीय पदम राई घाइते भएका छन्। ज्यालादारी कर्मचारीका रूपमा कार्यरत उनको अवस्था सामान्य रहेको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्राधिकरणले जनाएको छ।
दुर्घटनामा स्कोर्पियो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। विद्युत मर्मतका लागि हतारमा जाने क्रममा तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया दिनुहोस !