खाडी मुलुकलाई इरानकाे चेतावनी : सैन्य कारबाहीमा सहयोग गरे निशाना बनाइने
काठमाडौं : इरानले खाडी मुलुकहरूलाई आफ्नो भूमि इरानविरुद्धको सैन्य कारबाहीका लागि प्रयोग गर्न नदिन कडा चेतावनी दिएको छ। यदि कुनै पनि देशले इरानविरुद्धको सैन्य कारबाहीमा सहयोग गरे वा आफ्नो भूमि,सैन्य अखडा प्रयोग गर्न दिएमा, उनीहरूलाई जवाबी कारबाहीको निशाना बनाइने इरानले स्पष्ट पारेको हो।
अमेरिकाद्वारा गरिएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यो चेतावनी दिएको बीबीसीले जनाएकाे छ ।
इरानको सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा विदेश मन्त्रालयले अमेरिकी कदमको कडा आलोचना गरेको छ। मन्त्रालयले भनेको छ, 'युद्धविराम सम्झौतामा हस्ताक्षर भएको भर्खर २५ दिन मात्र भएको छ, तर अमेरिकाले खुला रूपमा सम्झौताका लगभग सबै प्रावधानहरूको उल्लंघन गरिसकेको छ।'
विदेश मन्त्रालयले अमेरिकी आक्रमणहरूमा इरानको यातायात नेटवर्क, माछा मार्ने डुङ्गाहरू, मालबाहक जहाजहरू, मौसम विज्ञान विभागका भवनहरू र अन्य सरकारी सुविधाहरूलाई निशाना बनाइएको दाबी गरेको छ। इरानले यी आक्रमणहरूलाई 'गम्भीर युद्ध अपराध'को संज्ञा समेत दिएको छ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुनको हवाला दिँदै छिमेकी मुलुकहरूको जिम्मेवारीबारे पनि स्मरण गराइएको छ। कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न अनुमति नदिनु छिमेकी देशहरूको दायित्व भएको इरानको भनाइ छ।
इरानले चेतावनी दिँदै आफूविरुद्धको आक्रमणमा संलग्न हुने वा कुनै पनि प्रकारको सहयोग गर्ने जुनसुकै ठाउँलाई पनि इरानी सेनाले जवाबी कारबाहीमा निशाना बनाउनेछ।
प्रतिक्रिया दिनुहोस !