इरानले अमेरिकाका यी ठाउँमा पुर्‍यायो करोडौंको क्षति, कहाँ कति नोक्सानी ?

इरानले अमेरिकाका यी ठाउँमा पुर्‍यायो करोडौंको क्षति, कहाँ कति नोक्सानी ?

इरान : इरानले अमेरिकाका धेरै सैन्य अड्डाहरूमा आक्रमण गरी करोडौं डलर बराबरको क्षति पुर्‍याएको दाबी गरिएको छ । युद्ध सुरु भएयता इरानले अमेरिकाका २० वटा सैन्य अड्डामा क्षति पुर्‍याएको बीबीसीले जनाएको छ । बीबीसीले आक्रमणको दायरा सार्वजनिक रूपमा स्वीकार गरिएभन्दा धेरै व्यापक रहेको जनाएको छ ।

फेब्रुअरीको अन्त्यदेखि इरानले मध्यपूर्वका आठ देशमा रहेका महत्वपूर्ण सैन्य अड्डाहरूलाई निशाना बनाएको छ । यी आक्रमणबाट अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, इन्धन भर्ने सैन्य विमान तथा रडार प्रणालीहरूमा करोडौं डलरको क्षति पुगेको बताइएको छ ।

पछिल्ला तीन महिनामा इरान र लेबनानमाथि अमेरिका–इजरायलले गरेका आक्रमणको जवाफस्वरूप इरानले अमेरिकी अड्डा तथा संयुक्त सैन्य सुविधाहरूलाई लक्षित गरेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार ‘अपरेसन एपिक फ्युरी’ सुरु भएयता अमेरिकाले इरानभित्र १३ हजार बढी लक्ष्यमा आक्रमण गरिसकेको छ ।

के भन्छन् विश्लेषक ?
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकी सैन्य अड्डामाथिको आक्रमणलाई आफ्नो सेनाको सफलताका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । मंगलबार जारी गरिएको एक वक्तव्यमा उनले मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाहरूका लागि ‘सुरक्षित क्षेत्र’ नरहेको दाबी गरेका थिए । यद्यपि, ह्वाइट हाउसले लगातार इरानको सैन्य क्षमता लगभग समाप्त भइसकेको दाबी गर्दै आएको छ । तर विश्लेषकहरूका अनुसार अमेरिकी अड्डाहरूमा भएको क्षतिले इरानी प्रतिआक्रमण पहिले अनुमान गरिएभन्दा धेरै सटिक र व्यापक रहेको संकेत गर्छ । 

कहाँ–कहाँ भयो क्षति ?
बीबीसी भेरिफाइले विभिन्न अन्तर्राष्ट्रिय प्रदायकका उपग्रह तस्बिरहरूको अध्ययन गरेर इरानी आक्रमणबाट भएको क्षतिको मूल्यांकन गरेको छ । 
प्रभावित सैन्य अड्डाहरू साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, इराक, जोर्डन, बहराइन, र ओमनमा रहेका छन् । केही विश्लेषकहरूले प्रभावित अड्डाको संख्या २८ सम्म पुग्न सक्ने अनुमान गरेका छन् । क्षति पुगेका प्रमुख सैन्य उपकरणहरूमा यूएईका अल रुवैस र अल सादर एयरबेस तथा जोर्डनको मुवाफ्फक सल्ती एयरबेसमा तैनाथ तीन वटा अत्याधुनिक एन्टी–ब्यालिस्टिक मिसाइल प्रतिरक्षा प्रणाली पनि समावेश छन् ।

अमेरिकासँग केवल आठ वटा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स ब्याट्री रहेको बताइन्छ । प्रत्येक प्रणाली तयार गर्न करिब १ अर्ब डलर खर्च लाग्ने र यसको सञ्चालनका लागि करिब १०० सैनिक आवश्यक पर्ने जनाइएको छ । यसबाट प्रहार गरिने प्रत्येक इन्टरसेप्टर मिसाइलको मूल्य करिब १ करोड २७ लाख डलर रहेको बताइएको छ ।

विमान र सञ्चार प्रणालीमा पनि क्षति
विशेषज्ञहरूले गरेको विश्लेषणअनुसार साउदी अरेबियाको प्रिन्स सुल्तान एयरबेसमा रहेका अमेरिकी इन्धन भर्ने तथा निगरानी विमानहरू पनि इरानी आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । एक विमानलाई इ–३ सेन्ट्री निगरानी विमानका रूपमा पहिचान गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यस्तो विमान प्रतिस्थापन गर्न करिब ७० करोड डलरसम्म खर्च लाग्न सक्छ ।

यसका अतिरिक्त कुवेतको अली अल सलेम एयरबेस र क्याम्प आरिफजानमा पनि क्षति पुगेको बताइएको छ । त्यहाँ इन्धन भण्डारण बंकर, विमान ह्याङ्गर तथा सैनिक आवासहरू प्रभावित भएको उपग्रह तस्बिरले देखाएको छ । क्याम्प आरिफजानमा उपग्रह सञ्चार उपकरणहरूमा व्यापक क्षति पुगेको पनि पुष्टि गरिएको छ ।

कुल क्षति कति ?
अमेरिकी सैन्य अड्डाहरूमा भएको कुल क्षतिको यकिन मूल्यांकन गर्न कठिन छ । तर मे महिनामा पेन्टागनले ‘अपरेसन एपिक फ्युरी’ को कुल लागत २९ अर्ब डलर पुगेको जनाएको थियो । यस रकमको ठूलो हिस्सा क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरणहरूको मर्मत तथा व्यवस्थापनमा खर्च हुने अनुमान गरिएको छ । रिपोर्टअनुसार फेब्रुअरीयता कम्तीमा ४२ वटा विमान नष्ट वा क्षतिग्रस्त भएका छन् । तीमध्ये एफ–१५ र एफ–३५ लडाकु विमान, २४ वटा एमक्यु–९ रिपर ड्रोन तथा एउटा ए–१० आक्रमणकारी विमान समावेश छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.