जुवा खालबाट १२ जना पक्राउ, एक लाख बढी नगद बरामद
सुनसरी : सुनसरी प्रहरीले इनरुवा नगरपालिका–६ स्थित शितल सेकुवा कर्नरबाट जुवा (तास) खेलिरहेको अवस्थामा १२ जनालाई खालबाटै पक्राउ गरेको छ । बुधबार राति उक्त स्थानमा मानिसहरू जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी पुग्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिएका छन् ।
प्रहरीले घटनास्थलबाट नगद १ लाख १ हजार ७३५ र एक बुङ तास बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिका–६ का ४७ वर्षीय जुनलक राई, वडा–९ का २८ वर्षीय ताहिर साफी, वडा–६ का ६० वर्षीय रामप्रसाद चौलागाईं, वडा–८ का ३७ वर्षीय उमेश साह हलुवाई, वडा–६ का ४७ वर्षीय बिनोद बोगटी र घरधनी शितल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय सुरबहादुर राउतलाई पक्राउ गरिएको एसपी थेबेले बताए ।
उनका अनुसार वडा–८ का २९ वर्षीय नजावुल मियाँ तथा २५ वर्षीय अमिर मिया, भोक्राहा नरसिंह गाउँपालिका–२ का २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ का ३३ वर्षीय उमेश सदा तथा कोशी गाउँपालिका–१ का ३४ वर्षीय बैजनाथ यादव पनि पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिएका छन् । प्रहरीले जिल्लामा अवैध जुवा–तास तथा अन्य आपराधिक गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !