नेपालले भुटानलाई ५१ रनले हरायो
काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले भुटानलाई ५१ रनले हराएको छ। क्लालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा भुटानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो।
नेपालले दिएको ११४ रनको विजयी लक्ष्य पछाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्रै बनाउन सक्यो।
भुटानको लागि ओपनर ब्याटर डिचेन वाङ्मोले ३९ रनको अविजित पारी खेलिन्। उनले ६० बलमा ५ चौका प्रहार गरिन् । चाडो ओमले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। रित्सी छोडेन समयमा क्रिजमा नआउँदा उनी टाइम आउट भइन्।
नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। रिया शर्माले २ विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन्। उनले २८ बलमा ६ चौका प्रहार गरिन्। नेपालले सुरुवाती विकेट सस्तैमा गुमाउँदा सीता राना मगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी बनाउँदै नेपालको पारी उकासेका थिए।
६७ रन बनाउँदा सात विकेट गुमाएको नेपालका लागि अनुभवी ब्याटरद्वय सीता र रुबिनाले केहीबेर नेपालको पारी सम्हाल्दै नेपाललाई १०० माथिको स्कोरमा पुर्याएका हुन्। ओपनर ब्याटर सम्झना खड्काले १० रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन्। रुबिना क्षेत्रीले २४ रन बनाइन् । रिया शर्मा बीसौँ ओभरको अन्तिम बलमा बोल्ड भइन्। मनिषा उपाध्याय सुन्यमा अविजित रहिन्।
भुटानको लागि बलिङतर्फ छिरिङ ग्याङमो र सोनमले ३-३ विकेट लिए। अन्जु गुरुङले २ विकेट लिँदा रित्सी छोडेन, अर रिया प्रधानले १-१ विकेट लिए। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !