राष्ट्रपतिबाट रनिङ सिल्डको उद्घाटन
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
राष्ट्रपति पौडेलले ओलम्पिक टर्च प्रज्ज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। त्यसपछि राष्ट्रपति पौडेलले सो टर्च ओलम्पियन ब्याडमिन्टनका प्रिन्स दाहाललाई हस्तान्तरण गरेका थिए। प्रिन्ससहित ओलम्पियन एथलेटिक्सकी सरस्वती भट्टराई, ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारी र ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पालैपालो टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए। राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याती र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पारे। ‘यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो। अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो’, उनले भने।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउने उदेश्यबाट प्रतियोगिता सन्चालन हँुदै आएको बताउँदै विद्यालय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण माध्यम राष्ट्रपति रनिङ सिल्ड भएको बताए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले गाउँ, नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म आइपुग्दा यस प्रतियोगिताले देशको कुनाकाप्चामा रहेका प्रतिभावान युवाहरूलाई खेलकुदको मूल प्रवाहमा जोड्ने काम गरेको धारणा व्यक्त गरेका थिए।
राखेपको आयोजनामा भइरहेको प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी छन्। विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान २–२ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्पर्धा समावेश छन्।
प्रतिक्रिया दिनुहोस !