अविनाश र भगवतीको राष्ट्रिय कीर्तिमान
काठमाडौं : अविनाश सुनार र भगवती खड्काले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन्। अविनाशले छात्र हाइजम्प र भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन्। दुवै बागमती प्रदेश खेलाडीका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरेका थिए। १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए। कोशी प्रदेशका टंक यादव दोस्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेस्रो भए। सो स्पर्धाको छात्रामा गण्डकीकी आराध्य चालिसे तथा सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रूपमा पहिलो भए। दुवैले १.४३ मिटर उचाइ नाघे। कोशीकी सुस्मिता बस्नेत तेस्रो भइन्।
छात्रा ४ सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। यसअघि एक मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो। फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन्। बागमतीकै अनिशा थारु दोस्रो र लुम्बिनी प्रदेशकी रोशनी कामी तेस्रो बने। सो स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए। उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पार गरे। गण्डकीका अतित थापा दोस्रो र गण्डकीकै अंकित रानाभाट तेस्रो भए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र एक सय मिटर दौडमा बागमतीका प्रवीण रानाले स्वर्ण जिते। उनले दूरी तय गर्न १०.४६ सेकेन्ड समय खर्चिए। सुदूरपश्चिमका सुरेश चौधरीले रजत र लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते। त्यसै स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। लुम्बिनीकै आशिका चौधरी दोस्रो र बागमतीकी सुरुची मोक्तान तेस्रो भए।
छात्र एक हजार पाँच सय मिटर दौड चार मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार पहिलो भए। लुम्बिनीका अरवीन्द्रकुमार यादव दोस्रो तथा कर्णालीका अनिल शाही तेस्रो बने। सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुक पहिलो भइन्। अस्मिताले दौड पूरा गर्न पाँच मिनेट १३.९ सेकेन्ड समय लगाइन्। लुम्बिनीकी अञ्जुली मल्ल दोस्रो तथा बागमतीकी शर्मिला विक तेस्रो भए।
प्रतिक्रिया दिनुहोस !