भारतमा १६ नेपाली बन्धक, उद्धारका लागि परिवारको हारगुहार

भारतमा १६ नेपाली बन्धक, उद्धारका लागि परिवारको हारगुहार
आफन्तजनको खोज तलास तथा उद्दारका इलाका प्रहरी कार्यालय आएका स्थानीयहरू। छोरो बन्धकमा परेपछि रोइरहेको सुकनी सदा। तस्बि। : राजकरण महतो

बर्दिबास : रोजगारीका लागि भारत पुगेका महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकासहित १६ जना नेपाली बन्धकमा परेका छन्। उनीहरूलाई काम गराएपछि ज्याला नदिई बन्धक बनाइएको पीडितमध्येकी किरण सदाले टेलिफोनमार्फत जानकारी दिएका छन्।

पीडितका अनुसार उनीहरूलाई डर, त्रास र कुटपिट गर्दै यातना दिइएको छ। यातनासम्बन्धी फोटो र भिडियोसमेत परिवारजनले प्राप्त गरेका छन्। बन्धक बनाइएका आफ्ना आफन्तको खोजतलास, सकुशल उद्धार तथा दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गर्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। बर्दिबास नगरपालिका-१४ का वडाध्यक्ष विजयकुमार महतोका अनुसार पीडित परिवारले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

पीडित परिवारले प्रहरीमा दिएको निवेदनअनुसार बर्दिबास नगरपालिका-३ गौरीडाँडाका दिलीप परियारले आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर चैत १३ गते उनीहरूलाई भारतको हरियाणा राज्यस्थित जिन्द जिल्लाको झाझर थाना अन्तर्गत हेलन गाउँमा रहेको कुखुरा फार्ममा काम गर्न लगेको उल्लेख छ।

उद्धारको माग गर्दै वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले प्रहरीमार्फत दूतावासमा निवेदन दिएका छन्।

बन्धक परेको आशंका गरिएका व्यक्तिहरूमा वीरेन्द्र सदाका १७ वर्षीय छोरा मुकेश सदा, कारिचरण सदाका १६ वर्षीय छोरा किसन सदा, अशोक सदाका १३ वर्षीय छोरा आशिक सदा, अमरलाल सदाकी २० वर्षीया छोरी किरण सदा र उनका २१ वर्षीय ज्वाइँ अमृत सदा रहेका छन्।

त्यस्तै मनोज सदाका १५ वर्षीय छोरा जय सदा, ३५ वर्षीय झरी सदा, उनकी श्रीमती ३४ वर्षीया ललमुनी सदा, १६ वर्षीया छोरी काजल सदा, १३ वर्षीया साजन सदा र ९ वर्षीय शंकर सदा पनि सम्पर्कविहीन अवस्थामा रहेको परिवारले जनाएको छ।

यसबाहेक ३८ वर्षीय विसुदेव सदा, उनकी श्रीमती ३५ वर्षीया महावती सदा र १० वर्षीय छोरा अमृत सदा तथा ४० वर्षीय मोहन सदा र उनकी श्रीमती ३५ वर्षीया बेचो सदा पनि भारतमै रहेको र परिवारको सम्पर्कमा नरहेको बताइएको छ।

निवेदनमा दिलीप परियारले सन् २०२६ मार्च २७ मा हरियाणाको जिन्द जिल्लास्थित हेलन गाउँको कुखुरा फार्ममा अण्डा टिप्ने काम रहेको र राम्रो आम्दानी हुने भन्दै उनीहरूलाई भारत लगेको उल्लेख गरिएको छ।

वडाध्यक्ष महतोले बन्धक परेको आशंका गरिएका व्यक्तिहरूको खोजतलास र उद्धारका लागि सम्बन्धित निकायसँग पहल भइरहेको बताए। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमल्सिनाले पीडितहरूको उद्धारका लागि आवश्यक समन्वय र पहल जारी रहेको जानकारी दिए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय पक्षसँग समन्वय गरी उनीहरूको उद्धारका लागि प्रक्रिया अघि बढाइएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.