कर्णालीको नीति तथा कार्यक्रम : समृद्ध, आत्मनिर्भर र विकासोन्मुख कर्णाली बनाउने

कर्णालीको नीति तथा कार्यक्रम : समृद्ध, आत्मनिर्भर र विकासोन्मुख कर्णाली बनाउने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले आगामी आर्थिक बर्षको लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

उनले नीति तथा कार्यक्रम मार्फत समग्र कर्णालीको विकास, सुशासन र समृद्धिको नयाँ मार्गचित्र अघि सारेको बताए । प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत बुधबार बसेको बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, ऊर्जा, वन तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ । उनका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम कर्णालीको दीर्घकालीन विकास लक्ष्यलाई केन्द्रमा राखेर तयार गरिएको हो । 

प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई तीव्रता दिने उद्देश्यसहित सार्वजनिक गरिएको कार्यक्रमले स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कंडेलले भने, सरकारले नीति तथा कार्यक्रममा कर्णालीको मुख्य आधारका रूपमा रहेको कृषि क्षेत्रलाई विशेष महत्व दिइएको छ । प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने तथा कृषि उपजको व्यावसायीकरणमार्फत निर्यात प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । किसानलाई आधुनिक प्रविधि, उन्नत बीउबिजन, सिँचाइ सुविधा र बजार पहुँच उपलब्ध गराउने योजना समेत सरकारले अघि सारेको छ । कृषि क्षेत्रलाई रोजगारी सिर्जनाको प्रमुख माध्यमका रूपमा विकास गर्दै युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने रणनीति पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै सरकारले शिक्षा क्षेत्रको सुधारलाई अर्को महत्वपूर्ण प्राथमिकताका रूपमा लिइएको छ । प्रदेश सरकारले सबै नागरिकको शिक्षामा समान पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । विद्यालय तथा उच्च शिक्षामा प्रविधिमैत्री शिक्षण प्रणालीको विकास, दक्ष जनशक्ति उत्पादन तथा व्यावहारिक शिक्षाको विस्तारमार्फत प्रतिस्पर्धी मानव संसाधन तयार गर्ने नीति सरकारले लिएको मुख्यमन्त्री कंडेलले बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्दै शैक्षिक असमानता न्यूनीकरण गर्ने योजनालाई पनि विशेष महत्व दिइएको छ ।

त्यस्तै स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणलाई सरकारले विकासको आधारभूत पक्षका रूपमा लिएको छ । आगामी वर्षमा प्रदेशभर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य पूर्वाधार विस्तार गरिने नीति लिइएको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने, मातृ तथा शिशु स्वास्थ्य सुधार गर्ने र आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग बढाउने कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । यस्तै सुर्खेतमा रहेको प्रदेश अस्पताललाई स्वाथ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने सरकारले तयारी थालेको छ । 

युवालाई विकासको प्रमुख शक्ति मान्दै सरकारले सीपमूलक शिक्षा, व्यवसायिक तालिम तथा उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बेरोजगारी न्यूनीकरण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । प्रदेशभित्रै रोजगारी सिर्जना गरी वैदेशिक पलायन कम गर्ने लक्ष्य पनि सरकारले निर्धारण गरेको छ । युवालाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने नीति कर्णालीको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण मानिएको छ ।

भौतिक पूर्वाधार विकासलाई पनि नीति तथा कार्यक्रमको मुख्य आधार बनाइएको छ । प्रदेश सरकारले गुणस्तरीय सडक सञ्जाल विस्तार गरी दुर्गम बस्तीलाई यातायात पहुँचसँग जोड्ने लक्ष्य राखेको छ । सडक, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणलाई व्यवस्थित र दिगो बनाउने नीति अवलम्बन गरिने भएको छ । विकास आयोजनाको प्रभावकारी कार्यान्वयन तथा समयमै सम्पन्न गर्ने प्रर्णाली विकासमा पनि सरकारले जोड दिएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रलाई प्रदेशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा हेरिएको छ । प्रत्येक नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने, कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने तथा जलस्रोतको उपयोगमार्फत ऊर्जा उत्पादन बढाउने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्दै ग्रामीण क्षेत्रको जीवनस्तर सुधार गर्ने योजना समेत समेटिएको छ ।

वन तथा वातावरण संरक्षणलाई पनि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ । वन सम्पदाको दिगो उपयोगमार्फत स्थानीय नागरिकको आयआर्जन वृद्धि गर्ने, पर्यापर्यटन प्रवद्र्धन गर्ने तथा जैविक विविधता संरक्षण गर्ने कार्यक्रम आगामी वर्ष सञ्चालन गरिने भएको छ । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरणीय सन्तुलन कायम राख्न समुदायको सहभागितामा संरक्षण अभियान सञ्चालन गरिने नीति सरकारले लिएको छ ।

सुशासन र प्रशासनिक सुधारलाई प्रदेश विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको छ । सूचना प्रविधिमा आधारित सेवा प्रवाह प्रणाली विकास गरी नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ । सार्वजनिक सेवामा डिजिटल प्रर्णालीको प्रयोग बढाउँदै प्रशासनिक कार्यलाई प्रभावकारी बनाइने भएको छ । यसले सरकारी सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ ।

सरकारले वित्तीय अनुशासन र खर्च व्यवस्थापनलाई समेत विशेष महत्व दिएको छ । बहुवर्षीय तथा स्रोत सुनिश्चित भएका आयोजनामा पर्याप्त बजेट विनियोजन गरी विकास निर्माणलाई गति दिने नीति लिइएको छ । सीमित स्रोत साधनको प्रभावकारी उपयोग गर्दै परिणाममुखी विकास सुनिश्चित गर्ने लक्ष्य सरकारले अघि सारेको छ । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने र बेरुजु न्यूनीकरणलाई अभियानकै रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत समृद्ध, आत्मनिर्भर र विकासोन्मुख कर्णाली निर्माणका लागि कृषि उत्पादनदेखि आधुनिक शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी सिर्जना, दिगो पूर्वाधार विकास, ऊर्जा विस्तार, वन संरक्षण र सुशासनलाई मुख्य प्राथमिक्ता दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.