चार लाख १५ हजार धरौटी बुझाएर छुटे मेयर सिंह

चार लाख १५ हजार धरौटी बुझाएर छुटे मेयर सिंह
सुन्नुहोस्

वीरगञ्ज : प्रहरीले नियन्त्रणमा लिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा चार लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । नागरिकता लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मेयर सिंह अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर मंगलबार नै साँझ रिहा भएका हुन् ।

पर्साको ठोरी गाँउपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मंगलबार बिहान ६ बजेतिर मेयर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसपछि मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले मेयर सिंहको बयान लिएका थिए । बयान सकिएपछि उनीविरुद्ध रेग्मीकै इजलासमा थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपछि रेग्मीको एकल इजलासले झुठा विवरण पेश गरेर नागरिकता बनाएको कसूरमा १५ हजार र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए । अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि प्रहरीले मेयर सिंहलाई अदालत परिसरबाटै रिहा गरिदिएको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । अदालतले रिहा गरे लगत्तै सिंहलाई उनका समर्थकहरुले अदालतमै पुगेर स्वागत गर्दै उनको पक्षमा नाराबाजी पनि गरेका थिए ।

त्यसअघि थुुनछेक बहसका क्रममा जाहेरवाला वीरगन्ज–३ का लियाकत अलीको तर्फबाट जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) मनोज गुप्ता, अधिवक्ताहरु दिनानाथ प्रसाद चौरसिया, विनय सिंह, रमेश प्रसाद, चन्द्रिका पटेल, मेराज मियाँ र सन्तोष श्रीवास्तवले बहस पैरवी गरेका थिए । यसैगरी मेयर सिंहको तर्फबाट भने अधिवक्ताहरु रामेश्वर सेढाईँ, कमलमोहन पोखरेल, प्रमोद प्रसाद, अरुण ज्ञवाली र शिवबहादुर कोइरालालले बहस गरेको श्रेस्तेदार मल्लिकले जानकारी दिए । 

नागरिकता लिखत कीर्तेसम्बन्धी कसूरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले जेठ १२ गते मेयर सिंह, उनकी कान्छी श्रीमती सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित कीर्ते सम्बन्धि कसूर गरेको आरोप थियो । जबकि मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।

जेठ १२ गते पक्राउ पूर्जी जारी भएपछि त्यसको भोलिपल्टै जेठ १३ गते बिहान मेयर सिंह आफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । तर त्यस दिन मुद्दाको चाप बढी भएका कारण आफूविरुद्धको मुद्दाको सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि उनी त्यसदिन अदालतबाट फर्किएका थिए ।

सरकारी वकिलको कार्यालयका अनुसार वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । त्यहि उजुरीका आधारमा मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.