वीरगन्जमा श्रीमतीको हत्या गरी महोत्तरी पुगेका श्रीमान पक्राउ
वीरगन्ज : आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका वीरगन्जका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका-७ स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका-१० बजरंग टोलमा बस्दै आएका ४५ वर्षीय रामनारायण दास तत्मा रहेका छन्।
प्रहरीका अनुसार यही जेठ १४ गते तत्ममाले मादक पदार्थ सेवन गरी आफ्नी पत्नी ४२ वर्षीया हलसिया कुमारीमाथि फलामको हतियार प्रहार गरी हत्या गरेका थिए।
पत्नीको हत्यापछि वीरगन्जबाट फरार रहेका तत्मालाई महोत्तरीको रामगोपालपुर नगरपालिका-७ मा लुकेर बसेको अवस्थामा आइतबार प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
महोत्तरीबाट पक्राउ गरिएका तत्मालाई वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको र उन विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए।
प्रतिक्रिया दिनुहोस !