फिर्केखोलाका अतिक्रमित संरचनामा चल्यो डोजर
प्रदूषणको चपेटामा परेको फिर्केखोलाले पुनः जीवन पाउने संंरक्षण योजना ल्याउन सुझाव
पोखरा : पोखरा महानगरपालिकाले फिर्केखोलाको जमिन अतिक्रमण गरेर बनेका संरचना आइतबारदेखि हटाउन सुरु गरेको छ। पोखराको मुख्य बजार भएर फेवातालमा मिसिने फिर्केखोला अतिक्रमण गरेर बनाएका संरचना हटाउन ३५ दिनको समयसीमा सकिएलगत्तै आइतबारदेखि हटाउन सुरु गरेको हो।
महानगरपालिकाले यसअघि फिर्केखोलाको अवस्था अध्ययन गर्न २०८० साउन २ गते प्राविधिक समिति गठन गरेको थियो। प्राविधिक समितिले ८ किलोमिटरभित्रको फिर्केखोलाको खोलाघर मिचेर ५३ वटा स्थायी र १०७ वटा अस्थायी संरचना बनेको सार्वजनिक गरेको थियो। महानगरपालिकाले खोलाघरमा बनेका संरचना हटाउन थालेका थिए। आइतबार पनि डोजर नचलेका क्षेत्रमा अतिक्रण गरेर बनाएका संरचना स्थानीय आफैंले भत्काएका थिए।
फिर्केखोलालाई खुला रूपमा बग्नसमेत नदिएर खोलामाथि घर बनेका छन्। २०६० फागुन १५ गते तत्कालीन पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर बोेगटीको सिफारिसमा लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले फिर्केखोलामाथि नै भवन बनाएको थियो। नियम मिच्दै तत्कालीन उपमहानगरपालिकाका अधिकारीले दिएर बनेको भवन २२ वर्षपछि पोखरा महानगरपालिकाले आइतबार भत्काएको छ।
महानगरपालिकाले बागलुङ बासपार्क नजिकैको फिर्के पुल क्षेत्रमा खोला मिचेर बनाएका संंरचना पनि भत्काएको छ। यसैगरी, फिर्केखोलाको मुहान अन्धेरीकुना क्षेत्रमा खोला मिचेर बनेका संरचनामा पनि डोजर लगाइएको छ। फिर्केखोलाघर मिचेर बनेका संरचना हटाउने अभियान पुरा नभएसम्म जारी रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।
प्राविधिक समितिले खोलाको प्राविधिक सीमांकनपश्चात् खोलाघर छुट्याउन २०८० भदौ २ गते ५८८ वटा सीमास्तम्भ गाडेको थियो। सीमास्तम्भ गाडेपछि २०८० कात्तिक १० गते महानगरपालिकाले खोला घरभित्रका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। यसअघि सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो।
उच्च अदालतले महानगरपालिकाको सूचना उपर उत्प्रेषण परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानरपालिकालाई अतिक्रमण हटाउन कानुनी बाटो खुलेको थियो। फिर्खेखोला पोखरा महानगरपालिकाको वडा नम्बर १८ बाट सुरु भएर वडा नम्बर २, ४, ५, ७, ८, ६ र १७ नम्बर हुँदै फेवातालमा पुगेर टुँगिन्छ। खोला अतिक्रमणका र प्रदूषणका कारण खोलाको जैविक विविधतामा पनि असर परेको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड ६ मिटर कायम गरेको छ। मापदण्ड कायम गर्दा अझै धेरै संरचना हटाउनुपर्ने महानगरपालिकाले जनाएको छ।
- फिर्केखोलाको ८ किलोमिटर क्षेत्रमा ५३ स्थायी र १०७ अस्थायी संरचना खोलाघर मिचेर बनाइएको थियो।
- फिर्केखोलामा फोहोर, प्लास्टिक र माटो थुप्रिँदा फेवाताल पनि प्रदूषणको चपेटामा परेको छ भने ११ रोपनीभन्दा बढी ताल क्षेत्र चौरमा परिणत भएको महानगरको भनाइ छ।
- महानगरपालिकाले पृथ्वी चोक बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी सरकारी जमिन पनि खाली गराउँदै आधुनिक बसपार्क निर्माणको तयारी थालेको छ।
सहरीकरणसँगै खोला नै मिचेर बस्ती बस्न थालेपछि पोखरा बजार भएर फेवातालमा मिसिने फिर्केखोला प्रदूषणसँगै फेवाताल पनि प्रदूषणको चपेटामा परेको छ। फेवातालमा मिसिने फिर्केखोलामा जथाभावी फोहार फ्यांकिँदा ताल प्रदूषणको चपेटामा परेको हो। प्लास्टिक जन्य फोहोर र माटो गेगरसमेत फिर्केखोला हुँदै पोखरा ६ र १७ नम्बर वडाको गाईघाटस्थित तालमा मिसिँदा ११ रोपनी बढी ताल क्षेत्र चौरमा परिणत भएको पोखरा महानगरपालिकाले जनाएको छ।
फिर्केखोलामा बनेका संरचना हटाउने मात्र होइन, महानगरपालिकाले फिर्केखोला र ताललाई पुनः जीवन दिने गरी कार्यक्रम ल्याउनुपर्ने संरक्षण अभियान्ता रामबहादुर पौडेलले बताए। फेवमा मिसिने फिर्केखोलामा बजारभरिको फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग गर्दा खोला मृत खोलाको हुने अवस्थामा पुगेको उनले बताए। फोहोर व्यवस्थापन गरी दुई दर्शकअघि पिउन र पौडी खेल्ने फिर्केखोलालाई पुनः जीवन दिने र खोलाका जैविक विविधता पुनः जोगाउन गरी संरक्षणका कार्यत्रम आउनुपर्ने उनले सुझाए।
पृथ्वी चोकको बसपार्क क्षेत्रमा अतिक्रमण गरेर बनाएको संरचना हटाउन १५ दिनको समय थप
पोखरा महानगरपालिकाले ५ दशकअघि व्यवस्थित बसपार्क बनाउन भनेर अधिग्रहण गरेर राखेको पोखराको पृथ्वी चोकको अतिक्रमणमा परेको जमिनमा बनेका संरचना पनि हटाउँदै छ।
पोखराको मुख्य बजार पृथ्वी चोकमा बसपार्क बनाउन २०३१/०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पाँच दर्शकदेखि अलपत्र परेको बस पार्क बनाउन भनेर छुट्याइएको जग्गामा अहिले ४ सय ५० भन्दा बढी घरटहरा बनेका छन्। पाँच दर्शकदेखि अलपत्र परेको पर्यटकीय राजधानी पोखराको पृथ्वी चोक बसपार्कको जमिनमा बनेका संरचना खाली गरेर आधुनिक बसपार्क बनाउने महानगरपालिकाको योजना छ।
पोखरा महानगरपालिकाले निस्सा पाएका भूमिहीन दलित, सुकुम्बासी र अव्यपस्थित बसोबासीहरूलाई जेठ ८ सम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको थियो। महानगरपालिकाले बसपार्कको जग्गा खाली गरेर सुविधा सम्पन्न बसपार्क बनाउन वैशाख ४ गते अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो।
बसपार्कको जग्गामा बसेका स्थानीयले ८ गतेभित्र वडा नम्बर ९ को कार्यालयमा निस्साको प्रतिलिपि, घरमूली र परिवारको सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, घरमूली र अन्य परिवारका सदस्यको नाता प्रमाण पत्रसहित वडा कार्यालयमा विवरण बुझाउन समय दिइएको थियो।
सुकुम्बासीको तथ्यांक एकिन गर्न र व्यवस्थापन गर्न पोखरा महानगरपालिकाले अतिक्रण गरेर बनाइएको संरचना आफैं भत्काउन शनिबार थप १५ दिनको समय दिएको छ। बसपार्क बनाउन ढिलाइ हुँदा २०५ रोपनी क्षेत्रफलको बसपार्क बनाउन छुट्टाइएको जमिन अतिक्रमणका कारण खुम्चिएर २६ रोपनी हाराहारीमा सीमित रहेको छ।
पार्टीले वर्षौंदेखि कब्जा गरेका जमिन खाली गर्दै महानगर
पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार पृथ्वीचोकमा वर्षौंदेखि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीनिकट मजदुर संगठनले अतिक्रमण गरेर बनाएका संरचना पनि हटाउने भएको छ।
महानगरपालिकाले अतिक्रमण गरेर बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि नेपाली कम्युनिस्ट पार्टीनिकटस्थ ट्रेड युनियन महासंघले लामो समयदेखि अतिक्रमण गरेर बसेको सरकारी जमिनका बनेको भवन पोखरा उपत्यका नगर विकास समतिलाई शनिबार हस्तान्तरण गरेको छ।
अन्य पार्टी र संघसस्थालाई पनि दिएको मितिमै अतिक्रमण गरेर बनाइका संरचना हटाउन र छाड्न महानगरपालिकाले अनुरोध गरेको छ।
महानगरपालिकाले महानगरभित्र सबै ठाउँमा सरकारी जमिन, खोला, नदी, ताललगायत क्षेत्र अतिक्रमण गरेर बनाएका क्षेत्र आफैं हटाउन सूचना जरी गरेको छ।
प्रतिक्रिया दिनुहोस !