ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई खादाले सम्मान
वीरेन्द्रनगर : पूर्वी सुर्खेतको बुटेचौर बजारमा एउटा जीप जाजरकोटबाट नेपालगञ्ज जाँदै थियो । त्यसै दिन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजाल अनुगमन निरीक्षणका लागि त्यसै बजारको सडकमा उभिएका थिए ।
९ सिट क्षमता भएको जीपले १४ जना यात्रु बोकेर आएको उक्त जीपले ड्राइभरको सिटसँगैको सिटमा मात्र तीन जना यात्रु कोचाकोच गरिएको थियो । जीप चालकले सडकमा ट्राफिक प्रहरी देखेर गाडी रोके । उनी कारबाहीमा पर्ने डरले डराए । तर प्रदेश ट्राफिक प्रहरी प्रमुख रिजालले क्षमता भन्दा बढी यात्रु बोकेर सवार जीपचालकलाई खादा निकालेर सम्मानित गरे ।
जीप चालकले लजाएर खादा लगाए । उनी ट्राफिक एसपीको सामु नतमस्तक भए । एसपी रिजालले उनलाई सिट भन्दा बढी यात्रु बोक्दा हुनसक्ने जोखिममा बारेमा बताए । तर ती चालकलाई कारबाही भने गरेनन् । अब के गर्नु हुन्छ आफै गर्नुस् भन्दा ती जीप चालकले आफ्नो गाडीमा सिट भन्दा बढी राखिएका यात्रुहरुलाई ओरालेर अन्य गाडीमा पठाई आफ्नो सिट क्षमता अनुसार यात्रु बोकेर बाटो लागे ।
माथिको घटना एक उदाहरण मात्र हो । कर्णालीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ट्राफिक व्यवस्थापनका लागि नयाँ नयाँ अभियानहरु सञ्चालन गरेको छ । सामान्यतया नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने प्रचलनबीच नियम पालना गर्नेहरूलाई सम्मान गर्ने अभ्यासले चालकहरूलाई नैतिक रूपमा जिम्मेवार बनाउने प्रयास गरिएको हो । यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै ट्राफिक अनुशासनप्रति जागरण ल्याउने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी रिजालले भने, ‘प्रहरीले ट्राफिक नियम उल्लंघनका घटनाहरुमा कानुनी कारबाही मात्र गरेर हुँदैन् । कतिपय अवस्थामा उनीहरुलाई सचेत बनाए नैतिक दण्ड दिँदा पनि निकै सुधार हुनसक्छ । शिष्ट सभ्य ब्यवहार र सम्मानसहित सवारी नियम उल्लंघन गर्ने चालकलाई आत्मबोध गराइ नियम पलना गर्न लगाउने अभियान हो ।’
उनले भने, ‘पछिल्लो समय यातायात क्षेत्रमा भएका समस्याहरु न्यूनिकरण गरी सडक सुरक्षाको सुनिश्चितताका लागि हामीले लाइसेन्स परिक्षा दिन आउने परीक्षार्थीलाई अभिमुखीकरणदेखि सडकमा चालकहरुलाई सम्मान गर्ने कार्यको थालनी गरेका छौँ । त्यसका लागि लामो समय कर्णालीका जोखिमयुक्त सडकमा सुरक्षित यात्रा गराईरहेका र कतिपय अवस्थामा ट्राफिक नियम उलंघन गर्ने चालकहरुलाई समेत सम्मान गर्ने कार्य गरिरहेका छौँ। गाडीमा सवार यात्रुहरुलाई पनि सचेत बनाउने गरेका छौँ । यसले राम्रो प्रभाव पारेको हामीले महसुस गरेका छौँ ।’

भौगोलिक रुपमा विकट र जोखिमयुक्त सडकका कारण समग्र कर्णालीमा यातायात व्यवस्थापन चुनौतीपूर्ण नै छ । ट्राफिक एसपी रिजालले भने, ‘यही चुनौतीलाई मध्यनजर गर्दै हामीले प्रदेशभरी ‘सुरक्षित कर्णाली अभियान’ सञ्चालन गरेका हौँ । आगामी बैशाख पहिलो सातामा ट्राफिक सप्ताह समेत आयोजना गर्ने तयारीमा छौँ । जसबाट ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन, दुर्घटना न्यूनीकरण गर्न र यात्रालाई सुरक्षित बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक तथा व्यवहारिक कार्यक्रमहरू उक्त सप्ताहमा समावेश हुनेछन् ।’
प्रहरीका अनुसार कर्णालीका सडकहरू साँघुरा, घुमाउरा र जोखिमयुक्त छन् । धेरै स्थानमा सडक स्तरोन्नति हुन नसक्दा यात्रा अझै खतरापूर्ण बन्ने गरेको छ । भीर, अप्ठ्यारा मोड र कमजोर सडक संरचनाका कारण सानो त्रुटिले पनि ठूलो दुर्घटना निम्त्याउने अवस्था छ । जहाँ सडकको रेखांकनका साथै ट्राफिक चिन्ह् पनि प्रयाप्त छैनन् । त्यससँगै थप चालकको लापरबाही, सवारी साधनको प्राविधिक कमजोरीले दुर्घटनाको जोखिम अझै बढाएको छ ।
कर्णालीमा सडक दुर्घटनाकै कारण धेरै नागरिकहरुको जिउ धनको क्षति भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३६ सवारी दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी २०७७/०७८ मा २ सय ९१ दुर्घटनामा ९८ जनाको मृत्यु भयो भने २०७८/०७९ मा दुर्घटनाको संख्या बढेर ४ सय १५ पुगेको थियो, जसमा १ सय ९७ जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा ४ सय ३६ दुर्घटनामा ६० जनाको मृत्यु भएको देखिन्छ भने २०८०/०८१ मा दुर्घटनाको संख्या झनै बढेर ८ सय २ पुगे पनि मृत्यु संख्या ६१ मा सीमित रह्यो । यस्तै २०८१/०८२ मा ५ सय ८१ दुर्घटनामा ७१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म ८ सय २७ दुर्घटनामा ९५ जनाको मृत्यु भइसकेको छ । यी तथ्यांकहरूले कर्णालीमा दुर्घटनाको जोखिम निरन्तर बढिरहेको देखाउँछ ।
कर्णाली राजमार्गलाई सुरक्षित बनाउन विभिन्न पूर्वाधार सुधार आवश्यक छ । प्रहरीका अनुसार जस्तै—घुम्ती मोडहरूमा कन्केभ लेन्स जडान, स्पष्ट ट्राफिक संकेतहरूको स्थापना, सडक छेउमा सेफ्टी ब्यारियर राख्ने, जेब्राक्रस निर्माण, बढी दुर्घटना हुने स्थानमा ‘ब्ल्याक स्पट’ बोर्ड राख्ने, तथा लामो दूरीका सवारीका लागि ‘रिफ्रेस सेन्टर’ स्थापना गर्नुपर्ने जरुरी छ ।
कर्णालीका धेरै सडकहरू यस्ता छन् जहाँ दुई सवारी साधन एकै पटक पास हुन समेत कठिन हुन्छ । विशेषगरी भीर र साँघुरा मोड भएका स्थानमा चालकहरूले अत्यन्त सावधानी अपनाउनुपर्ने हुन्छ । विद्यालयस्तरदेखि लिएर सार्वजनिक स्थानहरूमा ट्राफिक शिक्षा कार्यक्रम, चालक तथा सहचालकसँग अन्तरक्रिया, यात्रुहरूलाई सचेत गराउने अभियानहरू सञ्चालन भइरहेका छन ।
यसका साथै नियमित चेकजाँच, जरिवाना र नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने कार्य पनि भइरहेको छ । कर्णाली प्रदेशमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन योजना र ठोस रणनीति आवश्यक छ । प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग, सडकको मर्मतसम्भार, ट्राफिक नियम पालना, चालकहरूको क्षमता विकास र जनचेतनाको अभिवृद्धि गर्न प्राथमिकता दिनु पर्ने ट्राफिक प्रमुख एसपी रिजालको भनाई छ ।
महिला अटो चालकलाई अभिमुखीकरण
यस्तै सुर्खेतमा महिला अटो चालकलाई ट्राफिक नियमका बारेमा अभिमुखीकरणसहित सम्मान गरिएको छ । सुर्खेतस्थित प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा सुर्खेतमा रहेर अटो चलाउने महिला चालकहरुलाई ट्राफिक नियका बारेमा अभिमुखीकरणसहित सम्मान गरिएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित महिला अटो चालकहरुलाई सम्मान कार्यक्रममा ट्राफिक नियमसम्बन्धी अभिमुखीकरणसहित सम्मान गरेका हुन् । उनले सुरक्षित र अनुशासित यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अटो चलाएर जीवीका चलाईरहेका सुर्खेतका महिला अटो चालकहरुलाई थप प्रोत्साहन गर्ने सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस !