आठौं राष्ट्रिय बागमती गोल्डकप बैशाख १७ गतेदेखि
हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी बैशाखमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो ।
बागमती खेलकुद विकास समितिका संयोजक रहरसिं थिङले आगामी बैशाख १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने बताए । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुने उनले बताए । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हरेक वर्ष फाल्गुनमा गोल्डकप आयोजना गर्दै आइरहेको भए पनि यो लिग प्रतियोगिताका कारण पछाडि सार्नुपरेको बताए ।
पालिकाले खेल क्षेत्रमा लगानी गरेर आफ्नै रंगशाला तयार पारेर एकेडमी सञ्चालन गर्न लागेको बताए । गोल्डकपका लागि पालिकाले ५० लाख बजेट विनियोजन गरेको अध्यक्ष घलानले बताए ।
प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब र आयोजक टिम सहभागी रहने छन् ।
प्रतियोगिता बागमती–४ स्थित शहीद स्मृति रंगशालामा खेलाइने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !