‘ट्होटे’ मनाउन फेदीखोलामा सार्वजनिक बिदा
स्याङ्जा : तमु (गुरुङ) जातिको सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसर पारेर फेदीखोला गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । गुरुङ समुदायले ‘ट्होटे’ हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो ।
स्याङ्जाका ११ वटा स्थानीय पालिकामध्ये फेदीखोलाले मात्र पर्व मनाउनका लागि भन्दै सार्वजनिक बिदा दिएको हो । तमु (गुरूङ) जातिको बाहुल्यता रहेको फेदिखोलामा यस समुदायले परम्परागत, धार्मिक एवं सांस्कृतिक पर्व मनाउने कार्यको निरन्तरताका लागि सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
अध्यक्ष सुवेदीका अनुसार ट्होटे पर्वले समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउने मात्र नभई सांस्कृतिक विविधताको संरक्षणमा पनि टेवा पुर्याउने विश्वास छ । गाउँपालिकाले सूचना जारी गर्दै मंगलबार आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द गर्नेे निर्णय गरेको छ ।
ट्होटें पर्व मनाउनाले रोग, ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली सप्रिने, सुख–शान्ति प्राप्त हुने गुरुङ समुदायको जनविश्वास छ । गुरुङ भाषामा ‘ट्हो’ को अर्थ ‘राज्य’ र ‘टे’ को अर्थ ‘धपाउने’ वा राज्यबाट शत्रुलाई लखेट्नु भन्ने बुझाउँछ । साथै ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यता छ ।
प्रतिक्रिया दिनुहोस !