कोशीविरुद्ध पुलिसका कप्तान आरिफको अर्धशतक
वीरगन्ज : नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखले कोशी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । वीरगन्जस्थित नारायणी मैदानमा कोशीले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पुलिसका लागि आरिफले महत्वपूर्ण पारी खेल्दै अर्धशतक प्रहार गरेका हुन् ।
आरिफले ५८ बलमा सात चौका र एक छक्कासहित ५४ रन बनाएका छन् । ११ रनमा चार विकेट गुमाएको स्थितीमा मैदान पसेका आरिफले टिमलाई सम्हालेका हुन् । उनलाई रशिद खानले ३७ रन बनाएर साथ दिईरहेका छन् । ६२ बल खेलेका रशिदले तीन चौका प्रहार गरेका छन् । पुलिसले २५.२ ओभरमा चार विकेट गुमाएर एक सय रन बनाएको छ ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४३.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन जोडेको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले ४८, ओपनर सुमन श्रेष्ठले ४३, अंकित सुवेदीले २६, शिवांश बजगाईंले १५ रन बनाएका थिए । कोशी अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीलाई मध्यम योगफलमा रोक्ने क्रममा पुलिसका दिनेश खरेल एक्लैले पाँच विकेट लिए । खरेलले सोनु अंसारी, समिर कार्की, प्रेम कामत, शिवांश बजगाईं र विपिन महतोको विकेट लिएका हुन् । यसैगरी ललित राजवंशी र सागर ढकालले समान दुई-दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !