लेनदेन र ठगी कसुरमा रास्वपा सांसद आशिकाको नाम मुछियो
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगमा परेको एक लेनदेनसम्बन्धी उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिका तामाङको नाम मुछिएको छ। अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बाँस्कोटाबीचको करोडौं रुपैयाँको लेनदेन तथा ठगी विवादमा सांसद तामाङको नाम जोडिन पुगेको हो।
मानवअधिकार आयोग हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको जाहेरीमा बाँस्कोटा र सांसद तामाङले चेक बाउन्स गराई ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले पीडितहरू निवेदन लिएर प्रहरीसमक्ष पुगेको पुष्टि गरेका छन्। उनका अनुसार जाहेरीमा केही व्यक्तिको नाम उल्लेख भए पनि बाउन्स भएको चेक नै लिएर मुद्दा दर्ता भइसकेको अवस्था भने होइन। ‘ठगीमा परेको भन्दै पीडितहरू आएपछि निवेदन बुझ्न र आवश्यक छानबिनका लागि विभिन्न बैंकहरूमा पत्र पठाइएको छ,’ भट्टराईले भने।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि केही व्यक्ति उजुरी लिएर आयोग पुगेका थिए। ‘अमेरिकामा उपचारका लागि उठाइएको रकमका विषयमा विवाद उत्पन्न भएको देखिएको र आयोगको उजुरी शाखामा निवेदन दर्ता भएको छ,’ उनले भने, ‘घटनाको विस्तृत विवरण र सत्यतथ्य बुझेरमात्र थप भन्न सकिन्छ।’
आरोपअनुसार कुष्मा बुढाथोकीका क्यान्सर पीडित बुबा डम्बरबहादुर बुढाथोकीको उपचारको बहानामा बाँस्कोटा परिवारसँग नजिकिएका थिए। त्यसक्रममा बाँस्कोटाले परिवारसँग करोडौं ठगी गर्नुका साथै घरबाटै विभिन्न चेकहरू चोरेर लगेको पीडित पक्षको दाबी छ। डेढ करोडभन्दा बढीको फर्जी चेक बाउन्स गराएर आफूहरूलाई जेल हाल्ने र अमेरिकामा रहेकी छोरीलाई ‘इन्टरपोल’ लगाएर पक्राउ गराउने धम्की दिइएपछि पीडित परिवार प्रहरीकहाँ पुगेको हो। पीडित परिवारले आफूहरूले कहिल्यै कारोबार नै नगरेको बैंकका चेकहरू निकालेर बाउन्स बनाइएको र योजनाबद्ध रूपमा सिंगो परिवारलाई नै फसाउन खोजिएको दाबी गरेका छन्।
जाहेरी दर्ता नभएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दिलीप घिमिरेले प्रहरीमा आउने सबै मुद्दा सीधै दर्ता नहुने बताएका छन्। प्रमाण पुगेका मुद्दा र कसुरमा प्रक्रियागत रूपमा कारबाही अघि बढ्ने स्पष्ट पार्दै उनले यस घटनामा एउटै कसुरमा दुई जना पीडित देखिएकाले पहिले वास्तविक पीडित को हो भन्ने छुट्ट्याउनुपर्ने बताए। अन्य कसुरबारे पनि प्रहरीले विस्तारै अनुसन्धान अघि बढाउने उनको भनाइ छ।
गुहारियो प्रहरी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र झापाका जीवन बाँस्कोटाले हाल अमेरिकामा रहेकी कुस्मा बुढाथोकीविरुद्ध ठगीको आरोप लगाउँदै प्रहरी गुहारेका छन्। आशिकाका अनुसार कुस्माले उनका श्रीमान् थोमसलाई विवाहको आश्वासन दिएर १ करोड ३५ लाख रुपैयाँ ठगी गरेकी हुन्, जुन रकम २०७० सालको ‘एटीएम’ चलचित्र निर्माणमा प्रयोग भएको दाबी गरिएको छ। जीवन बाँस्कोटाले पनि ६–७ वर्ष ‘लिभ इन’ सम्बन्धमा रहँदा सेयर बजार र ऋण तिर्ने बहानामा कुस्माले आफूबाट करिब २ करोड ९२ लाख रुपैयाँ लगेर धोका दिएको बताएका छन्।
‘हामीले यो रकमको ताकेता गर्न छाडिसकेका थियौं, तर जीवन बाँस्कोटा सम्पर्कमा आएपछि सल्लाह गरेर प्रहरी गुहारेका हौं,’ आशिकाले भनिन्।
कुस्माले दिएका करोडौंका चेकहरू बाउन्स भएपछि उनीहरू कानुनी प्रक्रियामा गएका हुन्। आशिकालाई दिएको चेकको ४५ दिनको कानुनी अवधि नपुगेकाले उजुरी दर्ता भइसकेको छैन भने बाँस्कोटा १ करोड ८५ लाखको बाउन्स चेकसहित कानुनी उपचारको पर्खाइमा छन्। बाँस्कोटाले आफूलाई उल्टै बदनाम गराउन कुस्माको परिवारले झुटा आरोप लगाएको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !