पुलिसको खराब सुरुवात, चार ओभरमै गुमायो तीन विकेट
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाल पुलिस क्लबले खराब सुरुवात गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा कोशीले दिएको १६३ रनको लक्ष्य पछ्याउन ब्याटिङ सुरुवात गरेको पुलिसले चार ओभरमै महत्वपूर्ण तीन विकेट गुमाएको छ ।
पुलिसका ओपनर दुई रन बनाएर आउट भएका छन् भने शंकर राना र अमित श्रेष्ठ शून्यमा पेभेलियन फर्किए । पुलिसले दुई रनको स्थितिमा तीन विकेट गुमाएको हो ।
कोशीलाई शानदार सुरुवात दिलाउने क्रममा दिनेश कंडेल र विपिन महतोले एक÷एक विकेट लिए भने अमित श्रेष्ठ रनआउट हुन पुगे । पुलिसले अहिले आठ ओभरमा तीन विकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ । पुलिसका दिलशाद अली र रसिद खान मैदानमा छन् । यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले ४८, ओपनर सुमन श्रेष्ठले ४३, अंकित सुवेदीले २६, शिवांश बजगाईंले १५ रन बनाएका थिए ।
कोशी अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीलाई मध्यम योगफलमा रोक्ने क्रममा पुलिसका दिनेश खरेल एक्लैले पाँच विकेट लिए । खरेलले सोनु अंसारी, समिर कार्की, प्रेम कामत, शिवांश बजगाईं र विपिन महतोको विकेट लिँदै फाइफर पूरा गरे । यसैगरी ललित राजवंशी र सागर ढकालले समान दुई-दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !