स्कुटरलाई ठक्कर दिने टिपर चालक पक्राउ
काठमाडौं : बनेपामा स्कुटरलाई ठक्कर दिने टिपर चालक पक्राउ परेका छन्। जिल्लाको बनेपा नगरपालिका–७ चाँदनीचोकस्थित सडक खण्डमा बुधबार बिहान करिब ०८:१५ बजे बा.प्र.०२–०६३प ९१८९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका–८ स्थायी घर भई हाल धुलिखेल–५ बस्दै आएका अन्दाजी ३२ वर्षीय ओमन प्रधान गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ बस्ने अन्दाजी ३२ वर्षीय दीपक रोक्का हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेका काभ्रे एसपी कोमल शाहले जानकारी दिए ।
घटनापछि करिब २००–३०० जनाको संख्यामा स्थानीय बासिन्दा भेला भई केही समय सडक अवरुद्ध गरेका थिए। प्रहरीको समन्वयमा टिपर हटाइएपछि सडक सुचारु गरिएको छ।
शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !