इरानमाथि अमेरिकाको अहिलेसम्मकै ठूलो तेस्रो चरणको आक्रमण
काठमाडौं : अमेरिका र इरानबिचको तनाव फेरि उत्कर्षमा पुगेको छ। इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेलगत्तै अमेरिकाले इरानमाथि नयाँ चरणको शक्तिशाली हवाई आक्रमण सुरु गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, इरानी सेनाले साइप्रसको झण्डा अंकित एउटा व्यापारिक जहाजमाथि घातक आक्रमण गरेपछि अमेरिकाले यो हप्ताकै तेस्रो ठुलो हमला गरेको हो।
उक्त इरानी आक्रमणमा जहाजको इन्जिन रुम पूर्ण रूपमा ध्वस्त भएको छ भने एक चालक दलका सदस्य बेपत्ता भएका छन्।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'इरानले गलत निर्णय गर्यो, अब उसले यसको मूल्य चुकाउनुपर्छ।' यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अब समाप्त भएको घोषणा गरेका छन् ।
यो तनाव इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि लगत्तै चर्किएको हो, जसको गत फेब्रुअरी २८ मा अमेरिकी-इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो। उनका छोरा तथा इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले कार्यभार सम्हाल्दै आफ्ना पिताको हत्याको बदला लिने कडा चेतावनी दिएका छन् ।
अन्त्येष्टि र्यालीमा सहभागी हजारौँ इरानी नागरिकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको माग गर्दै प्रदर्शन गरेपछि ट्रम्पले पनि इरानलाई पूर्ण रूपमा 'तहसनहस र ध्वस्त' पारिदिने चेतावनी दिएका हु्न।
यद्यपि, अमेरिकी अधिकारीहरूले मध्यस्थकर्ताहरू मार्फत इरानलाई हर्मुज जलमार्ग तुरुन्त खोल्न र व्यापारिक जहाजहरूमाथि आक्रमण रोक्न दबाब दिइरहेका छन्। मध्यपूर्वी एसियाको यो युद्धले विश्वभरकै इन्धन आपूर्ति र अर्थतन्त्रमा ठुलो हलचल ल्याउन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !