केतन हत्या प्रकरण : बच्लान् त सिया र चेतन ? प्रहरीमाथि बढ्यो चुनौती
भारत : पुणेको लोहगढ किल्लाबाट खसेर २६ वर्षीय केतन अग्रवालको मृत्यु भएको घटना अहिले देशकै चर्चित हत्या प्रकरणमध्ये एक बनेको छ । जुन १८ मा भएको यो घटनालाई सुरुमा सामान्य ‘ट्रेकिङ दुर्घटना’ मानिएको थियो । तर तीन साताभित्रै यसले डरलाग्दो षड्यन्त्रको रूप लियो । विवाह हुनै लागेका युवा व्यवसायी केतनको मृत्यु भएपछि उनकी २० वर्षीया हुनेवाला पत्नी सिया गोयल र उनका प्रेमी भनिएका चेतन चौधरी पक्राउ परेका छन् । प्रहरीले उनीहरु दुवैले मिलेर केतनलाई किल्लाबाट धकेलेर हत्या गर्ने योजना बनाएका थिए ।
प्रहरीको सिद्धान्त र वास्तविकता
पुणे ग्रामीण प्रहरीले सार्वजनिक रूपमा सिया आफ्नो तय गरिएको विवाहबाट असन्तुष्ट रहेको र चेतनसँग प्रेम सम्बन्धमा रहेको दाबी गरेको छ । प्रहरीका अनुसार उनीहरूले केतनलाई बाटोबाट हटाउने योजना बनाएका थिए ।
प्रहरीको भनाइअनुसार हत्या गर्ने योजना क्याफेमा भएको भेटघाटका क्रममा बनाइएको थियो, त्यसको अभ्यास (रिहर्सल) समेत गरिएको थियो र एक पटक हत्या गर्ने प्रयास पनि असफल भएको थियो । तर यी सबै दाबी मात्र हुन् । अहिलेसम्म अदालतमा यी कुनै पनि कुरा प्रमाणित भएका छैनन् । त्यसैले सिया गोयल र चेतन चौधरी हालसम्म केवल आरोपी हुन्, दोषी होइनन् ।
अदालतमा टिक्ला प्रहरीको प्रमाण ?
इन्डिया टुडेको रिपोर्टअनुसार अदालतमा कसैलाई दोषी ठहर गर्न प्रहरीको भनाइहरुलाई आरोपबाट अघि बढाएर ठोस प्रमाणमा रूपान्तरण गर्नुपर्ने हुन्छ । कथित प्रेम सम्बन्धले हत्या गर्ने उद्देश्य (मोटिभ) देखाउन सक्छ । क्याफेमा भएको भेटघाट र रिहर्सलले षड्यन्त्रको संकेत गर्न सक्छ । फोन रेकर्ड, कपडा, सीसीटीभी फुटेज, लोकेसन डेटा र घटनापछिको व्यवहारले प्रमाणको श्रृंखला बलियो बनाउन सक्छ ।
तर अदालतमा यी सबै त्यतिबेला मात्र टिक्छन्, जब प्रमाणहरूको सम्पूर्ण श्रृंखलाले एउटै निष्कर्ष दिन्छ—केतनको खुट्टा चिप्लिएर लडेको होइन, उनले आफैं हाम फालेका पनि होइनन्, बरु उनलाई जानाजानी धक्का दिइएको थियो । प्रहरीलाई पनि यो आरोप लगाउनुभन्दा अदालतमा प्रमाणित गर्नु धेरै कठिन हुने कुरा थाहा छ ।
हालै प्रहरीले लाई–डिटेक्टर (झट) परीक्षणको अनुमति माग्दै दिएको निवेदन फिर्ता लिँदै अदालतलाई प्रत्यक्षदर्शी वा केतनलाई कसले धक्का दियो भन्ने प्रमाणित गर्ने ठोस प्रमाण नभएको जनाएको बताइएको छ । अहिले प्रहरीको मुद्दा मुख्यतः सिया र चेतनको कथित ‘कबुलनामामा’ आधारित छ ।
‘कबुलनामा’ को कानुनी हैसियत र जनआक्रोश
रिपोर्टअनुसार चर्चित फौजदारी कानुन व्यवसायी तनवीर अहमद मीर प्रहरी हिरासतमा दिइएको कबुलनामाको अदालतमा खासै कानुनी महत्व नहुने बताउँछन् । उनी सन् २००८ को चर्चित आरुषि–हेमराज दोहोरो हत्या प्रकरणमा तलवार दम्पतीको पक्षमा बहस गरी उनीहरूलाई सफाइ दिलाउने वकिल हुन् । उनका अनुसार अदालतले जनभावना वा सामाजिक आक्रोशका आधारमा होइन, केवल कानुनी रूपमा प्रमाणित भएका तथ्यका आधारमा फैसला गर्छ ।
परिस्थितिजन्य प्रमाण र ‘पञ्चशील’ सिद्धान्त
लोहगढ हत्या प्रकरणको सबैभन्दा ठूलो चुनौती भनेको यो पूर्ण रूपमा परिस्थितिजन्य प्रमाणमा आधारित हुनु हो । भारतीय कानुनअनुसार हत्या प्रमाणित गर्न प्रत्यक्षदर्शी वा भिडियो प्रमाण अनिवार्य हुँदैन । परिस्थितिजन्य प्रमाणको बलमा पनि दोषी ठहर गर्न सकिन्छ । तर त्यसका लागि प्रमाणहरूको श्रृंखला पूर्ण र अटुट हुनुपर्छ ।
भारतको सर्वोच्च अदालतले सन् १९८४ को शरद बिर्धीचन्द सारडा बनाम महाराष्ट्र राज्य मुद्दामा पाँच वटा ‘पञ्चशील’ सिद्धान्त तय गरेको थियो :
प्रत्येक परिस्थिति पूर्णरूपमा प्रमाणित भएको हुनुपर्छ । सबै प्रमाणले केवल अपराध भएको निष्कर्षतर्फ मात्र संकेत गर्नुपर्छ । प्रमाणहरूको श्रृंखला यति बलियो हुनुपर्छ कि त्यसमा अर्को सम्भावना वा अभियुक्त निर्दोष हुन सक्ने कुनै पनि उचित आधार बाँकी नरहोस् । वकिल मीर यसलाई ‘नटुट्ने प्रमाण श्रृंखला’ भन्छन् । यदि श्रृंखलाको एउटा कडी पनि टुट्यो भने त्यसको प्रत्यक्ष लाभ अभियुक्तलाई पुग्छ ।
आरुषि हत्या प्रकरणसँग मिल्दोजुल्दो अवस्था
यो घटनालाई बुझ्न आरुषि–हेमराज हत्या प्रकरणभन्दा राम्रो उदाहरण सायदै अर्को हुन सक्छ । त्यस घटनामा पनि एउटै परिवारमाथि व्यापक शंका गरिएको थियो र जनताले शंकालाई नै सत्य मानेका थिए । ट्रायल अदालतले आरुषिका आमाबुवालाई दोषी ठहर गरेको थियो । तर पछि उच्च अदालतले यही ‘पञ्चशील’ सिद्धान्तका आधारमा उक्त फैसला उल्ट्यायो ।
अभियोजन पक्षले हत्या भएको रात घरभित्र बाहिरी व्यक्ति प्रवेश गर्न नसक्ने कुरा प्रमाणित गर्न सकेन । बचाउ पक्षले कम्पाउन्डर कृष्णा जस्ता तेस्रो व्यक्तिले पनि हत्या गरेको हुन सक्ने वैकल्पिक सम्भावना प्रस्तुत गर्यो । उनीहरूले कृष्णाले नै हत्या गरेको प्रमाणित गर्नु परेको थिएन, केवल अदालतमा ‘उचित शंका’ उत्पन्न गर्न सके पुग्यो ।
अब लोहगढ प्रकरणमा के हुन्छ ?
अब पुणे प्रहरीले अदालतमा यही ‘नटुट्ने प्रमाण श्रृंखला’ प्रस्तुत गर्नुपर्नेछ । प्रहरीले पत्रकार सम्मेलनमा गरेका प्रत्येक दाबीलाई कानुनी प्रमाणमा रूपान्तरण गर्नुपर्नेछ । सियाको असन्तुष्टिलाई हत्या गर्ने उद्देश्यका रूपमा प्रमाणित गर्नुपर्नेछ । फोन रेकर्ड, च्याट र सीसीटीभीबाट केवल शंका होइन, हत्या गर्ने षड्यन्त्र नै भएको पुष्टि गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस !