ट्रम्पको धम्कीपछि इरानी नेता मोजतबाको कडा चेतावनी: 'रगतको बदला लिएरै छाड्छौँ'
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टाभित्रै इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना पिताको 'रगतको बदला'लिने घोषणा गरेका छन्। पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कार समापन भएसँगै मोजतबाको तर्फबाट एक लिखित सन्देश जारी गर्दै यस्तो चेतावनी दिइएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म 'ट्रुथ सोसल' मार्फत इरानले अमेरिकी राष्ट्रपतिको हत्या गर्ने धम्की कार्यान्वयन गरेमा तुरुन्तै हजारौँ मिसाइल प्रहार गरी इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्न अमेरिकी सेना तयार रहेको बताएका थिए।
ट्रम्पको सोही चेतावनीको जवाफ दिँदै इरानी नेता मोजतबा खामेनीले भनेका छन्, 'हामी हाम्रा नेता र सहिदहरूको रगतको बदला ती अपराधीहरूसँग लिने संकल्प गर्दछौँ। अपराधीहरूको पूरा सूची हामीसँग सुरक्षित छ र यो बदला हरहालतमा पूरा हुनेछ।' आफ्ना पिताको मृत्युपछि उत्तराधिकारी बनेका मोजतबा अहिलेसम्म सार्वजनिक रूपमा भने देखा परेका छैनन्।
द वाल स्ट्रिट जर्नलका अनुसार इजरायली गुप्तचर निकायले अमेरिकालाई इरानले डोनाल्ड ट्रम्पको हत्या गर्ने नयाँ योजना बनाइरहेको सूचना दिएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो। ट्रम्पले पनि टर्की भ्रमणका क्रममा आफूलाई ज्यान मार्ने धम्की आएको र उनीहरूको सूचीमा आफ्नो नाम रहेको दाबी गरेका थिए।
इरानी अधिकारीहरूले ट्रम्पको हत्याको षड्यन्त्र रचिएको आरोपको खण्डन गरे तापनि बदला लिनु आफूहरूको अधिकार र कर्तव्य भएको बताउँदै आएका छन्। हाल दुवै देशबीच वार्ता रोकिएको छ भने सीमा क्षेत्रमा भारी गोलाबारुद र मिसाइल प्रहार भइरहेको छन्।
प्रतिक्रिया दिनुहोस !