जमानतमा छुटेका व्यक्तिले एकै रात गरे ६ जनाको ह’त्या, दुई परिवार नै सखाप
भारत : भारतको तेलंगाना राज्यको रंगारेड्डी जिल्लामा हृदयविदारक घटना भएको छ । पोक्सो ऐनअन्तर्गतको मुद्दामा जमानतमा छुटेका एक आरोपीले एकै रात दुई परिवारका ६ जनाको हत्या गरेका छन् । प्रहरीले दिएको जानकारीअनुसार आरोपीले पहिले आफूमाथि मुद्दा दर्ता गराउने नाबालिग किशोरी र उनको परिवारलाई निशाना बनाए । त्यसपछि आफ्नै घर फर्किएर श्रीमती र दुई साना छोराको समेत हत्या गरे । घटना गरिसकेपछि आरोपी फरार रहेका छन् ।
यस्तो छ घटनाको पृष्ठभूमि
३५ वर्षीय आरोपी राजु कुमार पोक्सो मुद्दामा जमानतमा छुटेका थिए । घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये नाबालिग किशोरी, उनकी ४२ वर्षीया आमा, ६० वर्षीया हजुरआमा, आरोपीकी ३१ वर्षीया श्रीमती तथा उनका ४ वर्ष र १८ महिनाका दुई छोरा छन् । यसै वर्ष मे महिनामा नाबालिग किशोरीको परिवारले आरोपीविरुद्ध पछ्याउने (स्टकिङ) आरोपमा मुद्दा दर्ता गराएको थियो । प्रहरीले यही विषयलाई हत्याको मुख्य कारण मानेको छ।
यसरी सुरु भयो रक्तपात
प्रहरीका अनुसार शुक्रबार राति करिब १०ः४५ बजे राजु कुमार आफ्नो गाउँ रायवलगुडाबाट करिब ६ किलोमिटर टाढा रहेको शबद पुगे, जहाँ नाबालिग किशोरीको परिवार बस्दै आएको थियो । घरको ढोका खोल्ने बित्तिकै उनले किशोरीकी आमामाथि चक्कु प्रहार गरे । त्यसपछि घरभित्र पसेर सुतिरहेकी ६० वर्षीया हजुरआमाको पनि हत्या गरे । घरमा रहेकी किशोरीकी २० वर्षीया मानसिक रूपमा अशक्त दिदीलाई भने उनले कुनै हानि पुर्याएनन् ।
नाबालिगलाई अपहरणपछि झिल किनारमा हत्या
घरभित्र दुई जनाको हत्या गरेपछि आरोपीले नाबालिग किशोरीलाई जबर्जस्ती आफ्नो कारमा राखेर गाउँ नजिकैको झिल किनारमा लगे । त्यहाँ चक्कु प्रहार गरी उनको हत्या गरे र शव झिलको बाँध नजिकै फालेर फरार भए ।
६ मिनेटमै आफ्नै श्रीमती र दुई छोराको हत्या
किशोरीको हत्या गरेपछि राति ११ः२१ बजे राजु आफ्नै घर पुगे । अनुसन्धानकर्ताका अनुसार उनी घरभित्र केवल ६ मिनेट मात्र बसे । यही अवधिमा उनले सुतिरहेका आफ्नी श्रीमती र दुई साना छोराको घाँटी रेटेर हत्या गरे ।
बुवालाई फोन गर्दै भने, ‘मैले सबैलाई मारिसकें’
घटना घटाइ सकेपछि आरोपीले शबदमा रहेका आफ्ना बुवालाई फोन गरी आफूले दुवै परिवारका सबैलाई मारिसकेको र अब आत्महत्या गर्न लागेको बताएका थिए । छोराको कुरा सुनेपछि आत्तिएका उनका आमाबुवाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सबै ६ शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।
प्रतिक्रिया दिनुहोस !