दक्षिणी फिलिपिन्समा भीषण आँधीका कारण १५ जनाको मृत्यु
काठमाडौँ : दक्षिणी फिलिपिन्समा विगत केही दशकयताकै सबैभन्दा शक्तिशाली आँधीका कारण १५ जनाको मृत्यु भएको छ। यस भीषण आँधीको जोखिमलाई मध्यनजर गर्दै पूर्वी एसियाका कैयौँ देशहरूले उच्च सतर्कता अपनाएका छन्।
प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको यो आँधी करिब १,००० किलोमिटर (६२० माइल) क्षेत्रमा फैलिएको छ। यसको आकार युरोपेली मुलुक फ्रान्स जत्रो रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस आँधीका कारण ताइवानको उत्तरी र पूर्वी भूभागका साथै जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। यो आँधी शनिबार दक्षिण-पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ।
आँधीको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न हवाई उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूको पठनपाठन समेत स्थगित गरिएको छ। सम्भावित संकटलाई हेरेर सर्वसाधारणहरूले दैनिक उपभोग्य सामग्री र खाद्यान्न भण्डारण गर्न थालेपछि स्थानीय सुपरमार्केटका सेल्फहरू रित्तिएका छन्।
यसैबीच, फिलिपिन्सको मिन्डानाओ टापुमा अत्यधिक वर्षाका कारण कयौँ परिवार पहिरोको चपेटामा परेका छन्। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीहरू अझै पनि निरन्तर परिचालित छन्।
प्रतिक्रिया दिनुहोस !